सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन आउनुपर्ने बताएका छन् ।
विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज पोखरामा आयोजना गरेको विज्ञापनको अनुगमन, नियमन र व्यवस्थापनसम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रियाको उद्घाटन गर्दै उहाँले देश निर्वाचनतर्फ लागिसकेका अवस्थामा राजनीतिमा परिवर्तन ल्याउन सही नेतृत्व चयन गर्नुपर्ने बताए । निर्वाचन सुनिश्चित भइसकेको बताउँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले आज राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाउने विश्वास व्यक्त गरे । व्यक्ति बनेर केही हुँदैन देश बन्नुपर्छ भन्दै उनले यसका लागि विवेकसङ्गत र सही नेतृत्व आउनुपर्ने आवश्यकता औँल्याए ।
सङ्घ र प्रदेशबीच अस्थिरता रहेको उल्लेख गर्दै उनले सङ्घीयताको व्यावहारिक कार्यान्वयन हुन नसकेको बताए । राजनीतिकको जग स्थानीय सरकार भएको बताउँदै मन्त्री खरेलले स्थानीय तह जवाफदेही हुँदा मात्र जनताप्रतिको जिम्मेवारी पूरा हुने स्पष्ट पारे । पेसागत सक्रियतासँगै परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय सरकारको अनुभूति जनताले गर्न पाउनुपर्ने बताए । विज्ञापनसँग सम्बन्धित नीति सुधारका लागि सरकारले सहजीकरण गर्ने बताउँदै मन्त्री खरेलले यसको व्यवस्थापन, अनुगमन र नियमनका लागि कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले विज्ञापन ऐनबमोजिम कानुनलाई सक्रिय बनाउन सरकार लागिपरेको बताईन् । सबै स्थानीय तहमा पालिका हुलाक कार्यालय सञ्चालनमा ल्याइएको बताउँदै उनले यसलाई प्रभावकारी बनाउनका लागि स्थानीय तहले सहयोग गर्नुपर्ने बताईन् । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले विज्ञापन प्रणालीलाई प्रभावकारी बनाउने सम्बन्धमा बोर्ड लागिरहेको बताए । प्रदेश प्रमुख सचिव डुण्डुराज घिमिरेले विज्ञापन प्रणालीलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने आवश्यकता औँल्याए ।
गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारीले विज्ञापनका सम्बन्धमा विधि र मापदण्डमा एकरूपता ल्याउनुपर्नेमा जोड दिईन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






