पोखरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना


     एभरेस्ट आवाज    
     पौष १६ गते २०८२ मा प्रकाशित




राष्ट्रियसभा सदस्य पदका लागि पोखरामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आगामी माघ ११ गते हुने निर्वाचनलाई लक्षित गरी प्रदेश निर्वाचन कार्यालय पोखराको परिसरमा प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन कास्कीका जिल्ला न्यायाधीश हिमलाल बेलबासेले गरे । आयोगले जिल्ला न्यायाधीश बेलबासेलाई निर्वाचन अधिकृत तोकेको छ ।कार्यालयको उद्घाटन गर्दै उनले निर्वाचनमा सघाउन सबैसँग अपिल गरेका छन् ।निर्वाचन अधिकृत समेत रहेका बेलबासेले घोषित निर्वाचन स्वच्छ र भय रहित वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी गराएका थिए । उनले निर्वाचनका लागि पुस २३ मनोनयन दर्ता गरिने र त्यसअघि पुस १९ गते मतदाता नामावली सार्वजनिक गरिने जानकारी दिए । प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने अन्य क्लष्टर र महिला खुला क्लष्टरमा निर्वाचन हुनेछ । ६ वर्षअघि निर्वाचित भएका नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमालेकी नेतृ भगवती न्यौपानेको कार्यकाल सकिएको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्नेछन् ।

गण्डकीमा कांग्रेसका २७ प्रदेश सांसद, ६७ स्थानीय तहका प्रमुख उपप्रमुख,एमालेमा २२ प्रदेश सांसद, ७० स्थानीय तहका प्रमुख उपप्रमुख,नेपाली कम्युनिष्ट पार्टीका ७ जना प्रदेश सांसद र ३० जना स्थानीय तहका प्रमुख उपप्रमुख, राप्रपाका २ प्रदेश सांसद, नेसपाका १ प्रदेश सांसद र राष्ट्रिय जनमोर्चाका ३ जना स्थानीय तहका प्रमुख उपप्रमुख छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।