महिला अधिकारकर्मीले भने–‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’


     एभरेस्ट आवाज    
     पौष १८ गते २०८२ मा प्रकाशित




महिला अधिकारकर्मीले संविधानको भावनाअनुरुप समानुपातिक समावेशी अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।

महिला अधिकारका लागि दबाब अभियानले आज माइतिघर मण्डलामा दबाबका लागि र्‍यालीसहित अधिकारको माग गरिएको हो । त्यस क्रममा माइतिघर मण्डलाबाट सुरु भएको र्‍याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था धनि र सम्पन्नशाली व्यक्तिका लागि नभइ सीमान्तकृत, महिला, दलित, जनजाति र पछाडि पारिएका समुदायको अधिकारका लागि रहेको भन्दै विरोध जनाइएको थियो ।

सहभागी महिलाहरूले संविधानप्रदत्त समानुपातिक समावेशी अधिकारको पालना, दण्डहीनताको अन्त्य, नेतृत्वमा महिला सहभागितालगायत विषयमा लेखिएका ‘प्ले कार्ड’ सहित प्रदर्शन गरेका थिए । कोणसभामा गैरसरकारी संस्था महासङघका वरिष्ठ उपाध्यक्ष नानीमाया थापाले विगतमा पनि राजनीतिक पार्टीले समानुपातिक उम्मेदवारमा धनाड्य, आफन्त र पहुँचवालालाई स्थान दिने गरेको भन्दै यसपटक नयाँ पार्टीहरूले पनि चर्चित र सम्पन्न व्यक्तिलाई नै समानुपातिकमा नाम राखेकामा विरोध जनाईन ।

उनले जनताले सडकबाट सङ्घर्ष गरेर संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न बाध्य पारेको सन्दर्भ उल्लेख गर्दै यसको दुरुपयोग नगर्न चेतावनी दिईन् । “समानुपातिक कोटामा हुनेखाने र आफ्ना मान्छे राख्न पाइँदैन”, थापाले भनिन्,“त्यस्ता सूचीमा राखिएका व्यक्तिको नाम तुरुन्तै हटाउन हाम्रो आग्रह छ ।” कोणसभामा जेनजी पुस्ताका अगुवा नेता मोनिका निरौलाले संविधानप्रदत्त अधिकारको सही प्रयोग गर्न राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिईन् । उनले समानुपातिक अधिकार सीमान्तकृत समुदायकै हुने भएकाले यसमा नेताहरूले आँखा नलाउन खबरदारी गरिन् ।

सभामा दबाब र खबरदारी अभियान निरन्तर जारी राख्ने जनाइएको थियो ।उनीहरू शुक्रबार बिहान माइतीघरमा भेला भएर बानेश्वरसम्म विरोध र्‍याली गरेका हुन । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।