विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्छ: प्रदेश प्रमुख भट्ट


     एभरेस्ट आवाज    
     पौष २५ गते २०८२ मा प्रकाशित




गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्याणः तेस्रो संस्करण’ कार्यक्रममा प्रमुख अतिथि भट्टले सक्षम युवा जनशक्ति तयार पार्न शैक्षिक संस्थाले गुणस्तरीय, व्यवहारिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । उनले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने शैक्षिक वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिए । ‘विज्ञान तथा प्रविधि अन्तर्गतको इञ्जिनियरिङ शिक्षाको महत्व विश्वभर नै उच्च छ । क्षमतावान प्राविधिकहरुको माग संसारमा बढिरहँदा हामीले प्राविधिक शिक्षालाई विश्वबजारमा प्रतिष्पर्धा गर्ने किसिमले स्तरवृद्धि गर्न आवश्यक पनि छ ।’ उनले भने ।

दक्ष जनशक्ति विदेश पलायनको अवस्था भयावह हुँदै गएको बताउँदै उनले जनशक्ति पलायनको यो दुरावस्थालाई समयमै नियन्त्रण गर्न जरुरी रहेको बताए । ‘जनशक्ति पलायनको यो अवस्थालाई नियन्त्रणका लागि गतिलो आधार भनेको प्राविधिक शिक्षाको प्रभावकारी विकास नै हो ।’ उनले भने – ‘हरेक युवाले विदेशिनुलाई गौरव मान्ने मानसिकतालाई तोड्दै समृद्ध नेपाल निर्माणमा लाग्नुपपर्छ’ हरेक युवाले आफ्नो राष्ट्र प्रतिको दायित्वलाई मनन गर्दै समृद्ध नेपाल निर्माणका लागि अहोरात्र खटिनुपर्ने उनले बताए । उनले थपे – ‘वास्तविक परिवर्तनका लागि समुदायका सबै तहका वर्ग र समूहको सहभागिता आवश्यक छ । यसमा सबैभन्दा सक्रिय र उर्जाशील तह भनेको युवा वर्ग हो ।’

भट्टले उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई आत्मनिर्भर बनाउनका लागि राज्यले उचित नीति र कार्यक्रम अवलम्वन गरी रोजगारी तथा अवसरको सिर्जना गर्न आवश्यक रहेको बताए । प्रदेश प्रमुख भट्टले यस कार्यक्रमले विद्यार्थीहरुको सिर्जनशीलता, प्रतिभा तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नेपालका इन्जिनियरिङ विद्यार्थीहरूलाई एकताबद्ध गर्न, उनीहरूका नवीन विचारहरू कार्यान्वयनका लागि प्रोत्साहित गर्न र मुलुकको संस्कृति र पर्यटनको प्रवद्र्धन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे ।

‘पछ्याणः संस्कृतिसँग, पहिचानसँग’ मूल मन्त्रका साथ नेपालका ईञ्जिनियरिङ कलेजहरु र प्रविधि क्षेत्रमा उत्साही युवा विद्यार्थीहरुलाई सहभागी गराई झण्डै दुई सातासम्म विविध कार्यक्रम गरी सञ्चालन गरिएको आयोजकले जनाएको छ । सुदूरपश्चिमबाट अध्ययनका लागि पोखरा आएका विद्यार्थीहरु संगठित भएर सन् १९९७ मा यो समाज स्थापना गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।