सन्देश श्रेष्ठ
पोखरा, माघ १६
स्वर किन्नरी द्वय तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका छन् । कालजयी स्वरकी धनी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामाप्रति समर्पित तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका हुन् । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जद्वारा संयुक्त रुपमा शुक्रबार साँझ आयोजित कार्यक्रममा हार्मोनीमा आबद्द कलाकारहरुले तारादेवी–अरुणा लामाका एक दर्जन कालजयी गीतहरु उनीहरु प्रति नै समर्पित गरेर गुञ्जाउँदै ट्रिब्यूट दिए ।

पोखरा महानगरपालिकाको प्रवद्र्दनमा आयोजित श्रष्टा स्मृति साँझमा हार्मोनीका कलाकारहरुले सामुहिक बन्दना र त्यसलगत्तै लगातार तारादेवी र अरुणा लामाका कालजयी गीतहरु ‘शुभकामना भरी’, ‘उकाली ओरालीहरुमा’, ‘पोहोर साल’, ‘एक फूल झरेर के भो ?”, ‘ए कान्छा ठट्टैमा’, ‘हेर न हेर कान्छा’, ‘फूललाई सोंधे’ गुञ्जाउँदै स्वर किन्नरी द्वयलाई श्रद्दाञ्जली अर्पण गर्दै गुञ्जाएपछि कार्यक्रम शुरु भएको थियो । त्यसपछि पालैपालो स्टेजमा उक्लिएका गायीकाहरु ईतु जोजिजु, शितल थापा, कौशल्या गुरुङ, रजनी ऋदम राई, लक्ष्मी गिरी, मितु पाल र बबी दियाली रसाईलीले सांगीतिक प्रस्तुती दिए । उनीहरुले तारादेवी र अरुणा लामाका एकपछि अर्को गर्दै गीतहरु गुञ्जाउँदा दर्शक नोस्टाल्जिक बने भने आफ्नै गीत सुनाउँदा दर्शक आल्हादित बने । कार्यक्रममा ईतुले अरुणा लामाको ‘मैले जीवनलाई कसरी सजाएँ’ र अग्रज गायक रामभक्त जोजिजूसॅंग मिलेर आफ्नै स्वरको गीत “त्यो कहिले घाम, कहिले छायाँ’, सितल थापाले तारादेवीका ‘टाढाबाट बोलाएको’ र आपचफ्नै स्वरको ‘जति माया लाएपनि’, कौशल्या गुरुङले तारादेवीको ‘जताततै खोजें’ र आफ्नो ‘जून राम्रो जुनेली रातको’, रजनी ऋदम राईले अरुणा लामाको ‘भेटिनु छुटिनु’ र आफ्नो ‘को छ र मेरो’, लक्ष्मी गिरीले अरुणा लामाको ‘उदास मेरो जीवन कथा’ र आफ्नो ‘हिमालकी प्यारी छोरी’, मितु पालले अरुणा लामाको ‘हाँसी राखें, बोली राखें’ र आफ्नो ‘परिभाषा हराएको’ तथा बबी दियाली रसाइलीले तारादेवीको ‘जबजब मेरा सपनाहरु’ गीत गुञ्जाएका थिए ।
कार्यक्रममा आधुनिक र शास्त्री संगीतमा छुट्टै पहिचान बनाएकी चर्चित गायीका कुन्ती मोक्तानले विशेष सांगीतिक प्रस्तुती दिएकी थिईन् । सुर शक्ति नारी समूह काठमाणेडौकी सचिवसमेत रहेकी उनले तारादेवी र अरुणा लामालाई समर्पित गर्दै अरुणा लामाको ‘म आँखैमा राख्न’ र आफ्ना दुई गीतहरु ‘भन्छन् कोहि’ र ‘माथि माथि सैलुङ्गेमा’ गीतहरु गुञ्जाईन् । मोक्तानको प्रस्तुतिमा दर्शक दीर्घाबाट “वन्स मोर” को हुटिङले कार्यक्रममा छुट्टै रौनकता थपेको थियो ।

कार्यक्रममा कुशल बाद्यबादकहरु परबिन्दर सिंह, राजा मुखिया, गुप्त गुरुङ, राजेश बिष्ट क्षेत्री, सुमन तामाङ र तेज केसीले आफ्नो कला प्रस्तुत गर्दै तारादेवी र अरुणा लामाप्रति समर्पित यस स्मृति स्रष्टा साँझलाई सांगीतिक रूपमा जिवन्त र भब्य बनाउन सघाएका थिए ।
कार्यक्रममा स्मृति साँझको औचित्य र आवश्यक्ताका बारेमा कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले प्रष्ट्याएका थिए भने साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक प्रकाश सायमीले स्वर्गिय कलाकार द्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सुनाएका थिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तारादेवी–अरुणा लामा स्मृति साँझ पोखराको अर्को एउटा प्रोडक्ट बनेको बताए । उनले भने,‘पोखराका सबै क्षेत्रका अगुवाहरुको जमघट गर्ने एउटा थलेको बनेको छ यो । जसले गीत, संगीतसँगै पर्यटनमासमेत छुट्टै आयाम थपेको छ ।’
समापन कार्यत्रममा बोल्दै एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङले स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामाको माघ २२ गते र कालजयी गायीका तारादेवीको माघ ९ गते स्मृति दिवस भए पनि यी दुवै सर्वप्रिय गायीकाको स्मृति दिवसको सन्दर्भ पारेर हार्मोनी र एभरेस्ट एफएमले २०७९ सालदेखि हरेक वर्ष अरुणा लामा–तारादेवी स्मृति साँझ आयोजना गर्दै आएको जानकारी दिईन् । उनले गीत, संगीतको माध्यमबाट देशको शीर उचो बनाउने कलाकारहरुलाई समर्पित गर्न आयोजित यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने प्रतिबद्दता जनाईन् ।
कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट एकसाथ प्रत्यक्ष प्रशारण भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा…







