निर्वाचन लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने अवसरः उपराष्ट्रपति


     एभरेस्ट आवाज    
     माघ २१ गते २०८२ मा प्रकाशित




उपराष्ट्रपति राम सहायप्रसाद यादवले आसन्न निर्वाचन लोकतान्त्रिक अभ्यास अझै सुदृढ गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन् ।

काठमाडौँमा आज आदिवासी जनजाति आयोगको पाँचौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले निर्वाचन नागरिकको अधिकार अभिव्यक्त गर्ने माध्यम भएको बताउँदै, सम्पूर्ण नेपालीहरुले आफ्नो मताधिकार प्रयोग गरी राज्यको नीतिगत दिशा तय गर्ने अवसर प्रदान गर्ने भएकाले सबै नागरिकले अवसर गुमाउन नहुनेमा जोड दिए । उनले भने, “निर्वाचनका माध्यामबाट सम्पूर्ण नेपालीहरुले आफ्नो मताधिकार प्रयोग गरी राज्यको नीतिगत दिशा तय गर्ने अवसर प्रदान गर्छ, त्यसले लोकतन्त्रलाई जीवन्त राख्छ र समावेशितालाई बलियो बनाउँछ । निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलिया बनाई समावेशितालाई सुदृढ पार्छ ।”

यसका लागि आदिवासी जनजाति समूहसहित सबै समुदायको सहभागिता अपरिहार्य रहेको पनि उनले बताए । उपराष्ट्रपति यादवले आदिवासी जनजातिलाई स्रोत साधनमा पहुँच, नीति निर्माणमा सहभागिता र न्यायपूर्ण विकास प्रक्रियामा संलग्नतामा सुनिश्चित गर्न आयोगले पहल गर्न जरुरी रहेको बताए । “समावेशी लोकतन्त्रको सार्थकता तब मात्रै पुष्टि हुन्छ, जब प्रत्येक नागरिकले आफ्नो पहिचानलाई सम्मानित र अधिकारलाई सुनिश्चित भएको अनुभूति गर्दछ”, उपराष्ट्रपति यादवले भने ।

उनले समतामूलक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने काम यस्ता संवैधानिक आयोगको भएको पनि बताए । कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले कार्यप्रगति प्रस्तुत गर्दै अझै पनि नेपालमा आदिवासी जनजातिको राज्यको निकायमा पहुँच तथा सुविधा अत्यन्तै कमजोर रहेको बताए ।सोही अवसरमा आदिवासी जनजातिको हकहितमा योगदान गरेको जनाउँदै डा पासाङ डोल्मा शेर्पालाई सम्मान गरिइएको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।