कास्कीमा प्रहरीलाई निर्वाचन सुरक्षा सम्बन्धी अभिमुखीकरण


     एभरेस्ट आवाज    
     माघ २४ गते २०८२ मा प्रकाशित




आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने कास्की मातहतका प्रहरी चौकी र युनिट इञ्चार्जलाई निर्वाचन सुरक्षा, आचारसहिंतालगायतका विषयमा अभिमुखीकरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक नवीन कार्कीको उपस्थितिमा जिल्लाको सुरक्षा अवस्था र आगामी दिनमा तय गर्नुपर्ने रणनीतिका विषयमा अन्तरक्रिया एवं छलफल भएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए । “कार्यालयको नेतृत्वबाट मातहतका कार्यालय र युनिटका प्रमुखलाई निर्देशन प्राप्त भएको छ, निर्वाचन सुरक्षालाई कसरी चुस्त र प्रभावकारी बनाउने विषयमा अभिमुखीकरण गरिएको छ”, उनले भने ।

कास्कीमा निर्वाचनका लागि ९५७ प्रहरी परिचालन हुनेछन् । यस्तै दुई हजार आठ निर्वाचन प्रहरी परिचालन हुने बताइएको छ । एकीकृत सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री सुरक्षा घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन हुनेछन् । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र बाहिरी तहको सुरक्षामा नेपाली सेना परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा १५३ मतदानस्थल रहेका छन् ।

कास्कीमा गण्डकी प्रदेशकै सबैभन्दा बढी तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।