नारायणस्थान मन्दिरमा श्रीराम नवमी तथा वासन्तिक नवरात्र महोत्सव–२०८२ जारी


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०८२ मा प्रकाशित




पोखरा, कास्की —

भगवान श्रीराम को पावन प्राकट्य दिवस “श्रीराम नवमी” को अवसरमा सुरु भएको “श्रीराम नवमी एवं बासन्तिक नवरात्र महोत्सव–२०८२” आज तेस्रो दिन जारी छ । महायोगी सिद्धबाबा श्री वैष्णव कृष्णदासजी महाराजको पावन सत्संकल्पमा हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र तथा नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको आयोजनामा, साथै महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान शाखा कार्यालय पोखराको सहकार्यमा भइरहेको वासन्तिक नवरात्र महोत्सव जारी रहेको हो ।

महोत्सवमा हरेक दिन श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति हुने गरेको आयोजकले जनाएको छ । महोत्सवमा वैदिक विधिअनुसार “श्रीरामचरितमानस संगीतमय नवाह पारायण”, “बासन्तिक नवरात्र साधना, अनुष्ठान एवं पूजन”, ध्यान, जप, हवन, अभिषेक तथा महाआरती जस्ता धार्मिक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् । बिहान ६ः०० बजेदेखि १०ः०० बजेसम्म सञ्चालन हुने कार्यक्रम नारायणस्थान स्थित साधना केन्द्रमा जारी छ ।

चैत ५ गतेदेखि शुरु भएको महोत्सव चैत १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रममार्फत भक्तजनहरूलाई धार्मिक ज्ञान, मानसिक शान्ति तथा आध्यात्मिक उन्नतिमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
यसैबीच, बराहक्षेत्र चतराधाम लगायत देश तथा विदेशका विभिन्न शाखाहरू—काठमाडौँ, चितवन, सुर्खेत, टिकापुर तथा बेलायत, क्यानडा र अमेरिका—मा समेत समानान्तर रूपमा महोत्सव सञ्चालन भइरहेको जानकारी दिइएको छ।
आयोजकले महोत्सवमा सहभागी भई पूजा–आराधना तथा प्रसाद ग्रहण गर्न सम्पूर्ण श्रद्धालुहरूमा पुनः हार्दिक आह्वान गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।