सन्देश श्रेष्ठ
पोखरा, बैशाख २२
प्रजातन्त्र सेनानी दयाशंकर पालिखेको नाममा स्थापित दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट दुई पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा पालिखे परिवारद्वारा स्थापित सो सम्मानबाट अग्रज पत्रकार द्वय सूर्यचन्द्र बस्नेत र कृष्णमणी बराल सम्मानित भएका हुन् । पोखरामा मंगलबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, प्रेस स्वतन्त्रता सेनानी माधव शर्मालगायतले सम्मान गरे । पुरस्कारको राशी जनहि एक लाख १ हजार १ सय ११ राशीसहित दोषल्ला र ताम्रपत्र रहेको छ ।
सम्मानित बस्नेत राष्ट्रिय समाचार समितिका बरिष्ठ सम्पादक पदमा कार्यरत छन् । विगत तीन दशकदेखि पत्रकारिता गर्दै आएका बस्नेतले साठीको दशकमा पोखरामा बसेर पत्रकारिता गरेका थिए । उनले खास गरेर राजनीतिक बिटमा कलम चलाउँदै आएका छन् ।
अर्का सम्मानित बराल अन्नपूर्ण दैनिक र बिबिसी नेपाली सेवामा कार्यरत छन् । करीब तीन दशकदेखि नै पत्रकारिता गर्दै आएका बरालले वातावरण, पर्यापर्यटन, चरा र त्यसमा पनि गिद्ध संरक्षण सम्बन्धि विषयमा कलम चलाउँदै आएका छन् ।
सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले पत्रकारितासमाजलाई मार्गनिर्देश पेशा भएको बताए । पत्रकारिता पेसा मात्र होईन,उनले भने,‘यो त राष्ट्रको चौथो अंगका रूपमा समाजलाई सही मार्गमा अघि बढाउने जिम्मेवारी बोकेको पेशा हो । त्यसैले यसलाई महत्वपूर्ण सामाजिक दायित्व र चुनौतीपूर्ण सेवाका रुपमा लिनुपर्छ ।’ उनले विगतका राजनीतिक र सामाजिक परिवर्तनहरूमा सञ्चार जगतले खेलेको भूमिका अतुलनीय रहेको भन्दै प्रशंसासमेत गरे । ‘सत्य, निष्पक्ष र उत्तरदायित्व वहन गर्दै सही सूचना समाचार प्रवाह गर्ने पत्रकारिता जगत राज्य र नागरिकबीचको सेतु हो,उनले थपे,‘जसले पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।’
जनही १ लाख १ हजार १ सय ११ नगदसहित सम्मानित पत्रकारद्वय सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई बधाई ज्ञापन गर्दै उहाँले प्रजातन्त्र सेनानी दयाशंकर पालिखेले प्रजातन्त्रको स्थापना र सम्वद्र्धनमा पु¥याउनुभएको योगदानलाई स्मरण पनि गर्नुभयो ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधवप्रसाद रेग्मीले स्वागत र सचिव भुपाल गुरूले सञ्चालन गर्नुभएको थियो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पत्रकारिता अहिले चुनौतिको चाङमा रहेको बताए । प्रेस युनियन कास्कीका सभापती वासुदेव मिश्रले पत्रकारितामा देखिएको संकट टार्न पत्रकार आफैले आफूलाई बदलेर कलम चलाउन आवश्यक रहेको बताए ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारिता पेशालाई मर्यादित बनाउन महासंघले भूमिका खेलिरहेको उल्लेख गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी चयन भएका छन्।क्लबको शनिबार पोखरामा सम्पन्न…






