विन्ध्यवासिनी माविमा एसइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०८३ मा प्रकाशित




माध्यमिक शिक्षा परीक्षामा सफल भएका विद्यार्थीलाई पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले बधाईसहित सम्मान गरेको छ ।

गत सोमबार सार्वजनिक नतिजा अनुसार सो विद्यालयबाट सहभागि ८२ जना मध्ये २६ जना विद्यार्थीले उत्कृष्ट जिपिए ल्याएका थिए ।२९ जनाले ए, २१ जनाले बि प्लस र २ जनाले बि तथा ४ जना विद्यार्थी नन ग्रेडेड भएका छन् । उत्कृष्ट विद्यार्थीलाई बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी बधाईसहित सम्मान गरिएको सुचना अधिकारी नविन अधिकारीले जानकारी दिए । ३.९५ जिपिए ल्याएका समृद्ध घिमिरे, क्रिवास गुरुसहितका विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापा, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, सहायक प्रअ शिवप्रसाद सापकोटालगायतले खादा र मायाको चिनो दिएर सम्मान गरे । कार्यक्रममा प्रधानाध्यापक आचार्यले विद्यालयले निरन्तर रुपमा सफलता प्राप्त गरेको बताउँदै, संस्थागत विद्यालयका लागि पनि उदाहरण बन्ने गरेको बताए ।

उनले कक्षा ११ र १२ मा विद्यालयले प्रदान गर्ने शैक्षिक छात्रवृतिका विषयमा पनि जानकारी गराएका थिए । विद्यालयका दश जोड दुई संयोजक माधव अधिकारीले कसैको दबाब भन्दा पनि विद्यार्थीहरुले आफ्नो लक्ष्यकासाथ उच्च शिक्षामा विषय रोजेर अध्ययन गर्न सुझाव दिए । विज्ञान विभागका प्रमुख सुमन बस्नेतले विषय छनोट गर्ने अधिकार विद्यार्थी स्वयंमा रहेको स्पष्ट पार्दै, पछिल्लो प्रविधिलाई अगाल्ने गरी शैक्षिक उपलब्धि हासिल गर्न आग्रह गरे । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल,अभिभावक विमला ढकाल,विद्यार्थी गणेश शर्मा, रजिना छन्त्याललगायतले बोलेका थिए ।सो अवसरमा होस्टल वार्डेन र विषयगत शिक्षकलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत सामाजिक बिषय विभाग प्रमुख कृष्णप्रसाद पौडेल र संचालन आईसिटी प्रमुख खेमराज पौडेलले गरेका थिए । विद्यालयले कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापनतर्फका कक्षा संचालन गर्दै आईरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।