पोखरा बसपार्कमा डोजर : बास्तोला कम्प्लेक्सका ३२० सटर ढले


     एभरेस्ट आवाज    
     असार ६ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असार ६

पोखरा बसपार्कको बास्तोला कम्प्लेक्समा पनि अन्ततः डोजर चलेको छ । बसपार्क भित्रका अन्य घर, टहरामा डोजर चल्दा पनि बास्तोला कम्प्लेक्समा डोजर चलेको थिएन । जसले गर्दा स्थानियले बास्तोला कम्प्लेक्समा डोजर नचल्ने हो कि भन्ने शंकाको दृष्टिकोणले हेर्ने गरेका थिए । तर शनिबार अन्ततः बास्तोला कम्प्लेक्समा पनि डोजर चलेको छ ।

बसपार्क भित्रको पूर्वोत्तर क्षेत्रमा रहेको बास्तोला कम्प्लेक्समा शनिबार अपराह्न ३ वटा डोजर चलेको थियो । सो क्रममा त्यहाँ रहेका ३२० वटा सटरसहित सहकारीका संरचनाहरु ढलेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क क्षेत्र क्लियर गर्ने क्रम जारी रहेको बताए । विहीबार हामीले उत्तरी र दक्षिण पूर्वका संरचनाहरु भत्कायौं,उनले भने,‘आज पूर्वोत्तर क्षेत्रमा रहेका बास्तोला कम्प्लेक्स र त्यस भित्र रहेका सटरहरु भत्कायौं ।’ उनले सम्वाद र सहमतीबाटै बसपार्कका संरचना हटाउने प्रयास भइरहेको पनि स्पष्ट पारे । हामी हतारमा भत्काएर स्थानियलाई अप्ठेरो पार्ने पक्षमा छैनौं,उनले थपे,‘हामी मानवियता बुझ्छौं, त्यसैले त उहाँहरुसँग सम्वाद र सहमती गरेर हटाईरहेका छौं ।’

बास्तोला कम्प्लेक्समा डोजर चल्दा केहि व्यवसायीहरु विरोधमा उत्रिएका थिए । डोजरले एकाएक संरचना भत्काउन थालेपछि विरोधमा उत्रिएका उनीहरु आक्रोसित त थिए तर अवरोध गर्न भने गएनन् । बरु आफुहरुलाई पूर्व सूचना नदिइएको र सामान सार्ने पर्याप्त समय पनि नदिएकोमा आक्रोष पोखे । स्थानिय एकल महिला कमला पुनले आफूलाई सामान सार्ने समय पनि नदिएर महानगरले ज्यादती गरेको गुनासो गरिन् । गरीबमारा सरकार रहेछ,उनले भनिन्,‘हामी एकल महिला र असहायको पक्षमा कोहि पनि छैन । सरकार हाम्रै झुप्रो भत्काउन डोजर लिएर आएको छ, एकछि सामान सार्न समय माग्दा पनि दिएनन् पापीहरुले ।’ उनले आफ्नो झुप्रो भत्काउने महानगरलाई बास्तोला कम्प्लेक्स भित्रको सहकारी भवन भत्काउन चुनौति दिईन् । ‘मेयर र वडाध्यक्ष ज्यू मेरो झुप्रो भत्काउने तपाईंहरुसँग त्यो भवन भत्काउने तागत छ ? छ भने भत्काउनूस्’–उनले चुनौति दिदै भनिन् ।

उनले त्यसो भनिरहँदा सो कम्प्लेक्सका सञ्चालकहरु बाबुराम आचार्य, उमराज आचार्यलगायतका व्यवसायीहरु टाढाबाट घटना नियालीरहेका थिए । उनीहरुमध्ये दिशाबोध कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष बाबुराम आचार्यले भने,‘यो महानगरको ज्यादती मात्र हो । यसले कसैलाई फाइदा गर्दैन ।’

दोहोरा मारमा व्यवसायी

पोखरा पृथ्वीचोकस्थित पोखरा बसपार्कमा रहेको बास्तोला कम्प्लेक्समा महानगरले डोजर चलाएर सटरहरु फालिदिएपछि स्थानिय व्यवसायी दोहोरो मारमा परेका छन् । महानगरले एकाएक डोजर चलाएपछि आफूहरु महानगर र बास्तोला कम्प्लेक्स सञ्चालकको दोहोरो मारमा परेको उनीहरुको गुनासो छ । एकातिर महानगरले छोटो समय दिदा सामान सार्न नपाएको तथा अर्कोतिर कम्प्लेक्स सञ्चालकले लिएको धरौटीसमेत फिर्ता नगर्दा आफूहरु दोहोरो मारमा परेको उनीहरुले बताएका छन् ।

स्थानिय व्यवसायी सरस्वती केसीले महानगरले दिएको ३५ दिने सूचना आफूहरुलाई जानकारी नदिदा आफूहरु बिचल्लीमा परेको बताईन् । १५ दिनअघि हामीलाई सर्नुभन्ने आदेश आयो,उनले भनिन्,‘हामीलाई कसैले पनि ३५ दिने सूचनाबारे जानकारी दिएनन्, अहिले एक्कासी सर भन्दा घर न घाटको भईयो ।’ अर्कोतर्फ कम्प्लेक्स सञ्चालकले १० वर्षअघि एकलाख धरौटी लगेको तर अहिले नदिएको उनले बताईन् । हामी सबैले धरौटी बुझाएका थियौं,उनले प्रश्न गर्दै भनिन्,‘तर अहिले साहुले दिन्न भन्छन् । हामीलाई कसले दिने हो न्याय ? ।’

अर्का व्यवसायी कमला पुनले महानगर र कम्प्लेक्स सञ्चालकको दोहोरो मारमा आफूहरु परेको बताईन् । उनले भनिन्,‘एकातिर महानगरले सर्नलाई पर्याप्त समय दिएन, अर्कातिर धरौटी पनि नदिदा म एकल महिला बिचल्लीमा परेकी छु ।’

अर्का भारतीय व्यवसायी तिलकप्रसाद बानियाले आफूहरुसँग सञ्चालकले ३ लाख धरौटी लिएको तर फिर्ता नदिने भनेको बताए । हामीले धरौटी बुझाउँदा गरेको कागज पनि उसैले राख्यो,उनले भने,‘अहिले कागज माग्छ, उसले राखेको कागज अहिले हामीसँग खोजेर कहाँ पाईन्छ ? अब हामी लड्न पनि सक्दैन, हाम्रो आँसु कसले देख्ने ? ।’ उनले महानगरले सटर खाली गर्न भनेको कुरा आफूहरुले दुई दिन अघिमात्र थाहा पाएको बताए । सञ्चालकलाई हामीलाई थाहा नै दिएनन्,उनले थपे,‘खाली गर्नु दुई दिनअघि भोलिदेखि डोजर लाग्छ भन्छ, हामीले सामान कसरी सार्नु ? ।’

अर्का व्यवसायी सागर भट्टराईले पनि आफूहरु महानगर र सञ्चालक दुबैले गुमराहमा राखेर दुःख दिएको बताए । सञ्चालकले आफूहरुलाई समयमै जानकारी नदिदा समान सार्न नपाउनुका साथै धरौटी पनि नपाउँदा दोहोरो मारमा परेको बताए । उनले भने,‘समयमै जानकारी दिएको भए सामान त सार्न पाउँथ्यौं, तर न सामान सार्न पायौं नत धरौटी नै फिर्ता भयो ।

सञ्चालक बाबुराम आचार्यले आफूहरुलाई हटाईहाल्ने विश्वास नलागेकाले व्यवसायीलाई जानकारी नदिएको बताए । हामीलाई तत्काल हटाउँछ भन्ने नै लागेन,उनले भने,‘तर डोजर नै चल्छ भनेपछि बाध्य भएर व्यवसायीलाई जानकारी दियौं । उनले व्यवसायीहरुसँग धरौटी लिएको स्वीकार गरे । तर त्यसको प्रमाण लिएर आउनुपर्ने उनले बताए । जोजोसँग धरौटी लिएका थियौं, उनीहरुको धरौटी फिर्ता गर्छौं,उनले भने,‘तर त्यसको प्रमाण लिएर आउनुपर्छ ।’

भारतीय व्यवसायी तिलकप्रसाद बानियाले आफूहरुको प्रमाण सञ्चालकसँगै रहेको बताए । त्यतिखेर विश्वासमा उनीहरुलाई नै कागज राख्न दियौं,उनले भने,‘अहिले हामीले त्यो कागज कसरी ल्याउने ? उसैसँग छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।