बाटुलेचौरमा खानेपानी: एक स्मरण


     रामबहादुर बानियाँ    
     असार २७ गते २०८३ मा प्रकाशित




विक्रम संवत् १९९० सालमा राणा सरकारको दौडाहा टिमसँग बाटुलेचौरबासीले खानेपानीको माग राखे। दौडाहा टिमका हरि शम्शेरले घार्मी अलैंचीबारीको पानी ल्याउने स्टीमेट गर्छु भने तर त्यो त्यस समयमा त्यसै सेलायो।

यता बाटुलेचौर क्षेत्रका बासिन्दाले पायक पर्ने सेती गण्डकी, कालीखोला तथा रानी छहरोबाट पानी ल्याउँने गर्थे । काली खोलामा प्रत्येक टोल बस्तिका अलग अलग पानी घाट पँधेरो थियो।जुम्ली डाँडामूनि राणाहरुको जर्नेलको पँधेरो, त्यस भन्दा माथि गन्धर्व पँधेरो ,त्यसको माथि क्षेत्रीहरूको बिष्ट पँधेरो, त्यस माथि बाहुनहरुको बाहुनी पँधेरो, अम्बिका टोलको जुंगे तर्ने घाट र मैदान टोलबासिको राजपँधेरो थियो। पूजारी थर र बस्नेत थरले ढाँडापाखाको रानी छहरोबाट पानी ल्याउँथे। लामाचौरका बानियाँथर र घारी थरकाले भने सेती गण्डकीको पानी ल्याउँथे। त्यतिखेर सेती गण्डकी निकै स्वच्छ र प्रदूषण विहीन थियो। गाँग्रीमा पानी ल्याएपछि पिंधमा २ इन्च जति कमेरो थिग्रिन्थ्यो।

असार, साउन र भदौको चापाचापको समयमा खोलासम्म पानी ल्याउने समय अभावको कारणले घरघरमा चित्रा , भकारी थापेर पँदालो बनाउँथे र पानी संकलन गर्थे। वि.सं.२००९ सालमा बढ्दो आवादी र विद्यालय स्थापनाले गर्दा विद्यार्थीहरूलाई पानी अभाव हुन गयो। पानीको समस्या देखेर पं. मुक्तिनाथ शर्मा र स्व. देबीबहादुर बस्नेत लगायतले कालामुढा वा भोटीखोलाको पानी ल्याउनु पर्छ र पोखरा बजारको बढ्दो जनसंख्यालाई पनि पानी पुग्न सक्छ भन्ने प्रस्ताव ल्याए। बजारियाहरूले आनाकानी गरिरहेको अवस्थामा देवीबहादुरको ओजस्वी भाषणले बजारियाहरूको हृदय परिवर्तन भयो। सु. कृष्णमान खानेपानी योजनाको अध्यक्ष बन्नुभयो। उहाँको नेतृत्वले ८ लाख रुपैयाँ चन्दा उठाउन पनि सहजता हुने भयो।२ बर्ष पछि अर्थात २०११ सालमा भोटीखोलामा बाँध बाँधी कुला पातालको बन हुँदै पानी ल्याइयो।

सो पानीको केही अंश फलाएं फाँट सिंचाईमा खर्चियो भने केही अमला बिसौनीको खानेपानी ट्याङ्कीमा जम्मा गरी वितरण गरियो। ट्याङ्कीको पानी सिमेन्टको पाईपबाट बाटुलेचौर र लामाचौरका सार्वजनिक धारामा पनि छोडियो। बाटुलेचौर क्षेत्रमा अम्मरे भन्दा तल बस्ति थिएन, त्यसैले अम्मरे, गन्धर्व टोल, बानियाँ टोल, बांसाको बुटामैदानमा,दिलबहादुर श्रेष्ठको घर अगाडि, सार्की थरमा तथा लामाचौर क्षेत्रमा गैराबारी , डण्डी भण्डारी माइलाको मेसिन अगाडि, बानियाँथर र घांटी पाटनमा धारा दिइयो। पानीको लागि केटाकेटीले पालो कुर्थे र पानी भरिए पछि घरका ठूला मान्छेले पानी ल्याउँने गर्थे । नुहाउन, लुगाधुन भने काली खोलामै जाने चलन थियो। लुगा धुँदा खरानी पानीमा पकाएर पाटिले चुटेर पखाल्ने चलन थियो।

विन्ध्यवासिनी स्कूल हाता भित्र पनि धारा दिइएको थियो। पछि सो धारा बन्द भए पछि स्थानियलाई समस्या भयो र पोखरा नगर पञ्चायतका प्रधानपञ्चका उम्मेदवार भएका उत्तम पुनको सक्रियतामा पुनर्स्थापीत भयो। उत्तमको धारो नाम पाएको सो धारो पनि पछि बन्द भयो। आज प्रत्येक घरघरमा निजी धारा छन भने सार्वजनिक धारा असाध्यै न्यून छन । के आई सिंह पुलमा झपट बहादुर गुरुङले निजी खर्चमा सार्वजनिक धारा स्थापना गरिदिनु भएको थियो । अहिले पोखरा बजारको बढ्दो पानीको मागलाई दृष्टीगत गरी कालामुढा र मर्दी खोलाबाट पनि पानी ल्याईएको छ।

(लेखक बानियाँ लोक संस्कृतिका क्षेत्रमा कलम चलाउँछन् )


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।