नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन,सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क निर्धारण


     एभरेस्ट आवाज    
     श्रावण ११ गते २०८३ मा प्रकाशित




नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तरराष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरे । त्यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताए । उनले यो परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नरही नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उल्लेख गरे । उनले सुरुङ योजना, निर्माण, सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी क्षमता अभिवृद्धिका लागि नेपाल र जापानबीच नयाँ प्राविधिक सहयोग परियोजना सुरु गरिएको जानकारी दिए ।

हालै स्वीकृत उक्त परियोजनाले सुरुङ पूर्वाधार विकासमा दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्ने विश्वास व्यक्त गरे । यसै वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको उल्लेख गर्दै अध्यक्ष तानाकाले विगत सात दशकदेखि पारस्परिक विश्वास, सम्मान र सहकार्यमा आधारित सम्बन्ध अझ सुदृढ बन्दै गएको बताए । नागढुङ्गा सुरुङ दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यको जीवन्त प्रतीक भएको उनको भनाइ थियो ।नेपालका लागि जापानी राजदूत माएदा तोरुले जापान सरकारको आधिकारिक विकास सहायता तथा नेपाली प्राविधिक र श्रमिकहरूको अथक परिश्रमबाट सुरुङ निर्माण सम्पन्न भएको बताए । उनले यस परियोजनाले नेपाल र जापान सरकारबीचको विश्वासपूर्ण तथा दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाएको उल्लेख गरे ।

राजदूत माएदाले परियोजनामा योगदान पु¥याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै यसबाट हस्तान्तरण भएको प्राविधिक ज्ञान, सीप तथा उच्च सुरक्षा मापदण्डले नेपालको भावी सुरुङ तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । त्यस अवसरमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुङ्गा नाका दशकौँदेखि काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वार भए पनि अत्यधिक सवारी चाप र जोखिमपूर्ण सडकखण्डका रूपमा परिचित रहेको उल्लेख गरे । सुरुङ सञ्चालनसँगै यात्राको समय उल्लेखनीय रूपमा घट्ने तथा वर्षौंदेखिको ट्राफिक जाम र जोखिमपूर्ण यात्राको समस्या न्यूनीकरण हुने उनको भनाइ थियो ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ । सुरुआती सम्झौताअनुसार आयोजना विसं २०८० वैशाख १३ गतेभित्र सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलाइ, कोभिड–१९ महामारी तथा स्थानीयको अवरोधका कारण निर्माण प्रभावित भएको थियो । विसं २०७६ कात्तिक २८ गते ठेक्का सम्झौता भएको उक्त आयोजनाको निर्माण अवधि पछिल्लोपटक २०८२ कात्तिक ८ गतेसम्म थप गरिएको थियो । यसअघि सरकारले विसं २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । राजपत्रअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा रु ६५ र काठमाडौँबाट बाहिरिँदा रु ६० दस्तुर तोकिएको छ । मिनीबस तथा मिनी ट्रकका लागि क्रमशः रु १२५ र रु ८०, बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि रु २६० र रु २०० तथा मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० दस्तुर निर्धारण गरिएको छ ।

नेपालको पहिलो सडक सुरुङका रूपमा सञ्चालनमा आएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले काठमाडौँ–नौबिसे सडकखण्डमा यात्रा समय घटाउनुका साथै सुरक्षित, सहज र दिगो सडक यातायात व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।