एसियाली खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, म्यानेजर र अफिसियललाई दिइयो सुरक्षा अभिमुखीकरण


     एभरेस्ट आवाज    
     श्रावण १४ गते २०८३ मा प्रकाशित




पोखरा,साउन १४
जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी खेलाडि,प्रशिक्षक,टिम म्यानेजर,अफिसियल र जजको लागि काठमाडौँमा सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ ।
नेपाल ओलम्पिक कमिटी एनओसी सँगको सहकार्यमा नेसनल ओलम्पिक एकेडेमी नेपाल (एनओए) ले आगामी सेप्टेम्बर र अक्टोबरमा हुने एसियाली खेलकुदको तयारीमा रहेका खेलाडी र अफिसियलहरूका लागि मंगलबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नेशनल ओलम्पिक एकेडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरुङले खेलकुदमा संलग्न खेलाडी, प्रशिक्षक, अफिसियललगायत सबैका लागि सुरक्षा सचेतना अपरिहार्य रहेको बताएका थिए । उनले प्रत्येक खेलाडीले आफ्नो व्यक्तिगत सुरक्षा, अनुशासन र अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे जानकारी हुनु आवश्यक भएकाले यस्तो सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे।
अभिमुखीकरणमा एकेडेमीका निर्देशक सुजनलाल श्रेष्ठ, सदस्यद्धय प्रतिभा जोशी र डा प्रमिला थापाले सम्बन्धित विषयमा प्रस्तुति दिएका थिए । उनिहरुले खेलकुदमा सुरक्षाका सिद्धान्त, उत्पीडन र दुव्र्यवहारको रोकथाम, खेलाडीहरूको अधिकार र कल्याणको संरक्षण र सुरक्षित खेलकुद वातावरण प्रवद्र्धन खेलाडी, प्रशिक्षक, प्रबन्धक र अधिकारीहरूको सामूहिक जिम्मेवारीमाथि छलफल गरेका थिए ।
कार्यक्रममा एनओसीका सह महासचिव रामजीबहादुर श्रेष्ठलाई आगामी एसियाली खेलकुदको लागि नेपालको सुरक्षा अधिकारीको नियुक्त गरिएको जानकारी पनि दिईएको थियो ।
राष्ट्रिय खेलकुद परिषदका निदेर्शक,बिभागिय प्रमुखहरु पनि सहभागिता रहेको कार्यक्रमको
पहिलो सत्रमा पौडी, ब्याडमिन्टन, आर्चरी कबड्डी र टेबल टेनिसका प्रशिक्षक, प्रबन्धक र खेलाडीहरूको उपस्थिति रहेको थियो । दोस्रो सत्रमा जुडो, तेक्वान्दो, टेबल टेनिस, भलिबल, बक्सिङ र स्क्वासका प्रतिनिधि सहभागी थिए । एनओसीका अनुसार बाँकी खेलका लागि पनि यस्तै सत्र सञ्चालन गरिनेछ ।
एनओसीले यस अभिमुखीकरण कार्यक्रमको उदेश्य एसियाली खेलकुदमा प्रस्थान गर्नुअघि नेपालको टोलीका प्रत्येक सदस्यलाई सुरक्षा नीति र अभ्यासहरूको बारेमा राम्रोसँग जानकारी गराउने रहेको जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।