मिलेमतोमा पदक वितरण विवाद : छानबिन समितिको म्याद तीन दिन थपियो


     एभरेस्ट आवाज    
     श्रावण २९ गते २०८३ मा प्रकाशित




पोखरा, २९ साउन । गण्डकी खेलकुद परिषद् (गखेप)को पदक वितरणमा भएको अनियमितताको छानबिन गर्न गठित समितिको म्याद तीन दिन थपिएको छ । मन्त्रीस्तरीय निर्णयअनुसार म्याद थपिएको समितिका संयोजक तथा गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले जानकारी दिए । यसअघि साउन २४ गते बनेको छानबिन समितिको म्याद आज सकिएको थियो । काम नसकिएकोले म्याद थप गरिएको उनले बताए ।
समितिले आज २९ गतेसम्म छानबिनको काम सकेको र अब प्रतिवेदन लेखनको काम सुरु गर्ने पौडेलले जानकारी दिए । ‘आज २९ गतेसम्ममा छानबिनको काम सकिएको छ, अब प्रतिवेदन लेखनको काम सुरु गर्छौं,’ उनले भने ।
पदक वितरणमा भएको चरम लापरवाही, मिलेमतो तथा आर्थिक अनियमितताको आरोपबारे छानबिन गर्न मन्त्रीस्तरीय निर्णयबाट तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिमा मन्त्रालयका प्रवक्ता तथा खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेल र मन्त्रालयका युवा महाशाखा प्रमुख नारायणप्रसाद बास्तोला सदस्य छन् ।
संयोजक पौडेलले पदक वितरणको कार्यविधि, पदक सिफारिस गर्दा अपनाइएको प्रक्रिया, सिफारिसमा पारदर्शिता तथा पदक वितरण कार्यविधिअनुसार भए–नभएकोलगायत विषयमा छानबिन गरिएको बताए ।
गण्डकी खेलकुद परिषद्ले गत असार ३० गते वितरण गरेको खेलकुद पदकमा चरम लापरवाही र मिलेमतो भएको आरोप लागेपछि मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङका अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको समेत यस विषयमा ध्यानाकर्षण भएपछि छानबिन समिति गठन गरिएको हो ।
मन्त्री गुरुङले पदक वितरणमा भएको अनियमिततालगायत सबै विषयमा छानबिन गर्न निर्देशन दिइएको बताएकी छन् ।
गखेप सदस्य सचिव श्रीधर शर्माले सेटिङमा पदक वितरण गरेको आरोप लागेको छ । उनले पदक सिफारिस समितिको निर्णयविपरीत पदक वितरण गरेको, आफ्नो मान्छेलाई पदक दिएको, कार्यविधिविपरीत पदकसँगै रकमसमेत वितरण गरेकोलगायतका आरोप लागेका छन् ।
गखेपले वितरण गरेको पत्रकारितातर्फको पदक गखेपका वर्तमान सल्लाहकार तथा संघसंस्था समन्वय उपसमिति संयोजक केशव पाठकलाई प्रदान गरिएको थियो । पदक सिफारिस समितिका आमन्त्रित सदस्य पाठकले आफैंलाई पदक सिफारिस गरेर पदक लिएको आरोप छ । उनले जुन आर्थिक वर्ष २०८१/८२ को पदक लिएका छन्, त्यो वर्ष उनी गखेपको बोर्ड सदस्य तथा निमित्त सदस्य सचिवसमेत भएका थिए । सदस्य सचिव श्रीधर शर्मा चीन भ्रमणमा गएका बेला पाठक निमित्त सदस्य सचिव बनेका थिए ।
त्यतिमात्र होइन, पदक सिफारिस समितिका आमन्त्रित सदस्यद्वय हरि पराजुली र चित्रबहादुर थापाले समेत आफ्नो संघलाई पदक दिलाएको आरोप छ । पराजुलीले आफू निवर्तमान अध्यक्ष रहेको भूतपूर्व खेलाडी मञ्च र थापाले आफू अध्यक्ष रहेको ह्याण्डबल संघलाई पदक दिलाएका थिए ।
पदक सिफारिस समितिका संयोजक तथा सदस्यहरूले आफूहरूले पदक वितरणका लागि कसैको नाम पनि सिफारिस नगरेको जिकिर गर्दै आएका छन् । तर सदस्य सचिव शर्माले भने सिफारिस समितिकै आधारमा पदक वितरण गरेको दाबी गर्दै आएका छन् । उनले सिफारिस समितिको निर्णय पुस्तिकामा संयोजकसहित अन्य सदस्यहरूको हस्ताक्षर रहेको दाबी गर्दै आएका छन् ।
तर सिफारिस समितिका संयोजक मदन केसीलगायतले त्यसलाई अस्वीकार गर्दै आएका छन् । संयोजक केसीले आएका आवेदनहरूको प्रारम्भिक छनोट गरेर थप आवेदन माग्न सुझाव दिएको बताएका छन् । ‘हामीले आवेदन थप गर्न दिएको सुझावलाई निर्णयमा नलेखी पदक वितरण गर्ने भनेर लेख्न लगाएछन्,’ उनले भनेका छन्, ‘कि त त्यो निर्णयमा गरेको हस्ताक्षर किर्ते हो, कि चाहिँ पहिल्यै हस्ताक्षर गर्न लगाएर सदस्य सचिव शर्माले आफूअनुकूल निर्णय लेखेका हुन्, यसको छानबिन हुनुपर्छ ।’
गखेप सदस्य सचिव शर्माले जेनजी आन्दोलनका बेला पदक सिफारिस समितिको बैठक बसेको दाबीसमेत गर्दै आएका छन् । देशभर जेनजी आन्दोलन चलेको दिन भदौ २३ गते पहिलो बैठक बसेको तथा भदौ २४ गतेको तोडफोड र आगजनीपछि देशभर कफ्र्यु लागेको दिन भदौ २५ गते दोस्रो बैठक बसेको उनको दाबी छ । उनको दाबीमा पदक सिफारिस समितिका संयोजक तथा सदस्यहरू सहमत छैनन् । पोखरासहित देशभर कफ्र्यु लाग्नुका साथै गखेपको कार्यालय रहेको पोखरा रंगशाला बन्द रहेका दिन बैठक बस्नै नसक्ने उनीहरूको जिकिर छ । तर माइन्युट पुस्तिकामा हस्ताक्षर देखेपछि उनीहरू आफैं चकित परेका छन् ।
उसो त पदक वितरणमा भएको गल्ती सदस्य सचिव शर्माले स्वीकारिसकेको पदक सिफारिस समितिका सदस्यहरूले बताएका छन् । गत बिहीबार बोलाइएको पदक सिफारिस समितिको बैठकमा शर्माले गल्ती स्वीकार्दै माफी मागेको समितिका संयोजक मदन केसी तथा सदस्यहरू हरि पराजुली र चित्रबहादुर थापाले बताएका थिए ।
शर्माले पदक वितरणमा गल्ती भएकोमा माफी मागेर पुनः गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाउँदै २०८२/८३ को पदक सिफारिस समितिमा पुरानै सदस्य तथा संयोजक दोहो¥याउने भन्दै सहमतिको प्रयास गरेका थिए । त्यसपछि पदक सिफारिस समितिका सदस्यहरूले ‘हामी मिल्यौं’ भन्न थालेका थिए । सोही दिन पत्रकारसँग कुरा गर्दै संयोजक केसीले ‘सदस्य सचिवज्यूले माफी मागेर गल्ती नदोहो¥याउने भन्नुभयो, पुरानै पदक सिफारिस समितिलाई निरन्तरता दिने भनेपछि कुरा मिल्यो’ भनेका थिए ।
पदक वितरणमा भएको सेटिङ मात्र होइन, आर्थिक अनियमितता भएको आशंकासमेत बोर्ड सदस्यहरूले गरेका छन् । पदक प्राप्त गरेका केशव पाठकले नै पदक खरिद गरेर ल्याएको, पदक खरिदमा कमिसन खाएको तथा पदक लिन जाँदाको दैनिक भत्ता, यातायात, खाना र बसोबास खर्चसमेत लिएको स्रोतको दाबी छ । यस विषयमा समेत छानबिन गरिएको समितिका सदस्यले बताएका छन् ।
गखेपले खेलकुद पत्रकारितातर्फ केशव पाठक, खेलाडीतर्फ भलिबलकी अरुणा शाही, आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर, अन्तर्राष्ट्रिय आर्चरी खेलाडी योगेन्द्र शेरचन र असिम शेरचन, क्रिकेट प्रशिक्षकतर्फ रिजन प्रजु र संघसंस्थातर्फ नेपाल भूतपूर्व खेलाडी मञ्चलाई २०८१/८२ को खेलकुद पदक वितरण गरेको थियो ।
त्यसैगरी सर्वोत्कृष्ट प्रदेश खेलबाट गण्डकी प्रदेश टेनिस संघलाई नगद १ लाख २० हजारसहित सम्मान गरिएको थियो भने गण्डकी प्रदेश ह्याण्डबल संघ र गण्डकी प्रदेश फेन्सिङ संघलाई उत्कृष्ट खेल संघ घोषणा गर्दै नगद ९०/९० हजारसहित सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।