भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, पोखरामा स्वस्ति शान्तीसहित दीप प्रज्वलन


     एभरेस्ट आवाज    
     भाद्र २२ गते २०८३ मा प्रकाशित




रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ । यसैबिच विनाशकारी बाढीमा परेर अकालमा ज्यान गुमाएकाहरुको सम्मानमा पोखरामा स्वस्ति शान्तीसहित दीप प्रज्वलन गरिएको छ । पोखरामा पहिचान नखुलेका ७६ वटा शव व्यवस्थापन गरिएको स्थल पोखरा १६, जौवारीस्थित गारतारो क्षेत्रको शिशौंघारीमा वटुकहरुको स्वस्ति शान्ती वाचन गरि १०८ दीप प्रज्वलन गरिएको हो । त्यस अवसरमा शोक सभा समेत गरिएको थियो ।

सभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, पोखरा १ का वडाध्यक्ष सहारा प्रधानलगायतका जनप्रतिनिधी, प्रशासनका प्रमुखहरु, सुरक्षा निकाय र स्थानीयबासीको उपस्थिती रहेको थियो । सहभागीहरुले दीप प्रज्वलन गर्नुका साथै शव व्यवस्थापन गरिएको क्षेत्रमा पुष्प अर्पण गरेका थिए । त्यस्तै वडा कार्यालय पोखरा १६, भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, नव आदर्श सामुदायिक विकास समाज, मैदान आमा समुह लगायतका त्यस क्षेत्रका संघ संस्थाले आज साँझ मैदान चोक र लामाचौर चोकमा दीप प्रज्वलन गर्ने तयारी गरेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार साँझसम्म जनाए अनुसार भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४२ जनाको शव फेलापरेको छ । यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।