कास्कीमा पाडीबाच्छी हुर्काउन किसानलाई १० हजारसम्म प्रोत्साहन


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०८३ मा प्रकाशित




कास्कीमा कृत्रिम गर्भाधानबाट जन्मिएका पाडी तथा बाच्छी हुर्काउन किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइने कार्यक्रमले निरन्तरता पाएको छ ।

स्थानीयस्तरमै गाईभैँसीको उत्पादन बढाउँदै बाहिरबाट पशु आयात घटाउने उद्देश्यले पाडी बाच्छी हुर्काउनका लागि सरकारले किसानलाई नगद अनुदान दिनेछ । भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय कास्कीले यसका लागि आवेदन माग गरेको छ । यस वर्ष यो कार्यक्रम अन्नपूर्ण गाउँपालिकाका सबै वडामा सञ्चालन हुने कार्यालयका प्रमुख डा ग्रिष्म न्यौपानेले बताए । उनका अनुसार कार्यक्रमअन्तर्गत एक वर्ष उमेर पुगेका पाडी तथा बाच्छीलाई प्रतिगोटा अधिकतम रु १० हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइनेछ । “एक जना कृषकले बढीमा पाँच वटा पाडीबाच्छीका लागि आवेदन दिन सक्नेछन् । यसअनुसार एक कृषकले अधिकतम रु ५० हजारसम्म सहयोग पाउनेछन्”, प्रमुख न्यौपानेले भने ।

कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन गरिएको छ । उक्त रकमबाट ३४५ वटा पाडी तथा बाच्छीलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ । “स्थानीयस्तरमा जन्मिएका पाडीबाच्छीलाई हुर्काएर उत्पादनशील गाईभैँसीको सङ्ख्या बढाउनसके दूध उत्पादनमा वृद्धि हुनुका साथै अन्य जिल्लाबाट गाईभैँसी खरिद तथा आयात गर्नुपर्ने बाध्यता हुँदैन । यसले स्थानीय किसानलाई पशुपालनमा आकर्षित गर्नुका साथै उत्पादन र आम्दानी बढाउन पनि सहयोग पुग्नेछ”, उनले भने ।

प्रोत्साहन रकम पाउन सम्बन्धित गाउँपालिकामा गाईभैँसीपालन गरिरहेको, कृत्रिम गर्भाधानबाट जन्मिएका पाडी वा बाच्छी पालिरहेको र तिनको उमेर एक वर्ष पुगेको हुनुपर्नेछ । आवेदनका साथ कृषकले कृत्रिम गर्भाधानको प्रमाण, पशुको बिमालेख, पहिचान खुल्ने फोटो तथा सम्बन्धित पशु सेवा शाखाको सिफारिस पेस गर्नुपर्नेछ । स्थानीयस्तरमा पशुको नश्ल सुधार, उत्पादन वृद्धि र गाईभैँसीको सङ्ख्या विस्तार गर्दै दूध उत्पादनमा आत्मनिर्भर बन्न तथा बाह्य निर्भरता घटाउन कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ ।

कास्कीमा गत वर्ष यो कार्यक्रम कार्यान्वयन गरिएको थियो । जसमा ९९ कोरली पाडी र ३५५ कोरली बाच्छी हुकिइ माउ बन्न योग्य भएको बताइन्छ । यसबाट आगामी वर्ष जिल्लामा १२ लाख लिटर अतिरिक्त दूध उत्पादन हुने अपेक्षा गरिएको पशु विकास कार्यालयले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।