ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल टान गण्डकीका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्य पोखरा पर्यटन परिषद्को कोषाध्यक्षमा मनोनित भएका छन्।
परिषद्को हालै सम्पन्न २६औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट हरि भुजेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएपछि बाँकी रहेका पदाधिकारी र सदस्य मनोनयन गर्ने क्रममा आचार्यलाई कोषाध्यक्षको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो। लामो समयदेखि पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा व्यावसायिक रूपमा सक्रिय आचार्यले यसअघि टान गण्डकीको अध्यक्षका रूपमा सफल नेतृत्व गरिसकेका छन्। पर्यटन प्रवर्द्धन र व्यवसायीहरूको हकहितका लागि निरन्तर आवाज उठाउँदै आएका आचार्य नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समिति सदस्य हुन्। पर्यटन क्षेत्रको तल्लो तहदेखि नीतिगत तहसम्मको उनको लामो अनुभवले परिषद्को आर्थिक तथा सांगठनिक सञ्चालनमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ। त्यस्तै सदस्यमा गोकर्ण लम्साल चयन भएका छन्। लम्साल एगाका निवर्तमान अध्यक्ष हुन्।

परिषद्को अधिवेशनले अध्यक्षमा हरि भुजेललाई निर्वाचित गरे पनि विधानअनुसार प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष लगायतका प्रमुख पदाधिकारीहरू नयाँ कार्यसमितिको बैठकले पछि चयन गर्ने व्यवस्था रहेको थियो। सोही प्रक्रियाअनुसार कार्यसमितिलाई पूर्णता दिने क्रममा आचार्यलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको हो। नवनिर्वाचित अध्यक्ष भुजेलको नेतृत्वमा बनेको यस नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा हरिराम अधिकारी, द्वितीय उपाध्यक्षमा नारायणप्रसाद सुवेदी, महासचिवमा मिलन तिवारी, सचिवमा बाबुराम पाण्डे र सह(कोषाध्यक्षमा शोभाकुमारी अधिकारी सापकोटा चयन भइसकेका छन्। यस्तै सदस्यहरूमा सुनिलबहादुर भट्टराई र जीवनराज सापकोटा लगायत रहेका छन्।
गण्डकी प्रदेशकै पर्यटन व्यवसायीहरूको छाता संगठनका रूपमा रहेको परिषद्ले नयाँ कार्यसमितिको पूर्णता पाएसँगै पोखराको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा विभिन्न आर्थिक मन्दीका कारण थलिएको पर्यटन व्यवसायलाई चलायमान बनाउन नयाँ रणनीतिका साथ अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक १२ पोखराको अस्तित्व फेवातालसँग जोडिएको छ । अझ भनौं…







