सन्देश श्रेष्ठ
पोखरा, कात्तिक १५
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कास्कीमा पनि जागरण अभियान शुरु गरेको छ । कास्की नेकपालाई पुरानै अवस्थामा फर्काउने संकल्पसहित नेकपा कास्कीले जिल्लामा जागरण अभियान शुरु गरेको हो । नेकपा कास्कीको सो अभियानको आईतबार नेकपाका गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले शुभारम्भ गरे ।
कास्की कुनै बेला नेकपा (तत्कालीन माओवादी)को लालकिल्लाजस्तै थियो । संविधान सभा निर्वाचन–२०६४ मा नेकपाले ४ क्षेत्रमध्य ३ क्षेत्र जितेको थियो । क्षेत्र नम्बर १, २ र ४ मा जित हाँसिल गरेको नेकपा ३ मा भने झिनो मतान्तरले पराजित भएको थियो ।
तर त्यो लोकप्रियता लामो समय टिकेन । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा तीन क्षेत्रमा खुम्चिएको कास्कीमा नेकपाले सबै क्षेत्र गुमायो । त्यसपछि भने नेकपाले कास्कीमा जित हाँसिल गर्न सकेको छैन ।
यसबिचमा नेकपाले चुनावमा हार बेहोर्नेमात्रै भएन, बरु लोकप्रियता घट्नेसँगै जनमत पनि गुमाउँदै गयो । हुँदाहुँदा २०८२ को निर्वाचनमा आईपुग्दा नेकपाले शर्मनाक पराजय बेहा¥यो । यतिसम्मकी आफ्नै संगठित कार्यकर्ताको मतसमेत जोगाउन नसकेर जमानत जफतको स्थितिमा नेकपा आईपुगेको छ ।
कास्कीमा नेकपाले १२ हजार संगठित सदस्य (पार्टी सदस्यता) रहेको दाबी गर्दै आएको थियो भने पोखरा महानगरमा मात्रै ८ हजार पार्टी सदस्य रहेको सो पार्टीको दाबी थियो । तर जेनजी आन्दोलनपश्चात कास्कीका २ हजार जनाले मात्रै पार्टी सदस्यता नवीकरण गरेको पाइएको छ । पोखरा महानगरका एक हजार र अन्य ४ पालिकाका १ हजार गरेर कुल २ हजार कार्यकर्ताले पार्टी सदस्यता नवीकरण गरेको सो पार्टी स्रोतले बताएको छ ।
पार्टीको यो खस्किदो साख उकासेर पुरानै अवस्थामा फर्काउने प्रयास जागरण अभियानमार्फत शुरु गरिएको नेकपा कास्कीका ईञ्चार्ज रामजीप्रसाद बरालले बताए । हिजोको मजबुत अवस्थाबाट अहिलेको कमजोर अवस्थासम्म आईपुगेका छौं,उनले भने,‘अब रफ्तारका साथ पार्टीलाई पुरानै अवस्थामा फर्काउन संकल्पसहित जागरण अभियान लिएर गाउँ, घर र परिवारसम्म पुग्दैछौं ।’ उनका अनुसार पार्टीले कास्कीमा नवीकरण गर्न बाँकी ६ हजार जनाको पार्टी सदस्यता नवीकरण गर्नेगरी जागरण अभियान सञ्चालन गर्नेछ । जसअनुसार पोखरा महानगरका २ हजार ९ सय ५०,, मादी गाउँपालिकाले १ हजार, माछापुच्छ«े गाउँपालिकामा ७ सय ५० जना, अन्नपूर्ण गाउँपालिकामा ८ सय र रुपा गाउँपालिकामा ५ सय पार्टी सदस्यको पार्टी सदस्यता नवीकरण गर्नेगरी अभियान सञ्चालन हुने उनको भनाई छ ।
यसबिचमा पार्टी कमिटीले आ–आफ्ना पालिकाका संघ, संस्था, क्लव, आमा समूहलगायतसँग छलफल र अन्तरक्रियासमेत गर्ने नेकपा कास्कीका संयोजक खड्ग हमालले जानकारी दिए । उनका अनुसार पोखरा महानगर कमिटीले पोखराका ६ सय ६० संघसंस्था, रुपा गाउँपालिका कमिटीले ३५ वटा संघसंस्था तथा क्लव, मादी गाउँपालिका कमिटीले ६० वटा संघसंस्था तथा क्लव, माछापुच्छ«े गाउँ कमिटीले ४५ वटा संघसंस्था तथा क्लव र अन्नपूर्ण गाउँपालिका कमिटीले ५५ वटा संघसंस्थासम्म पुगेर छलफल तथा अन्तरक्रिया गर्नेछन् ।
अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेशका ईञ्चार्ज देवेन्द्र पौडेलले ‘चुपचाप घण्टीछाप’को भ्रमबाट मुक्त बनाउन अभियान सार्थक हुने विस्वास व्यक्त गरे । संविधान र व्यवस्थाको रक्षाका लागि पनि नेकपासहित पुराना पार्टीहरु पुनःजागृत हुन जरुरी रहेको बताउँदै उनले भने,‘अहिले संविधानमा कोमामा छ, यसलाई मृत घोषणा त गरिएको छैन तर यसले काम पनि गरिरहेको छैन । वर्तमान सरकारले संविधान रक्षा गर्दैन र गर्नेतर्फ पनि छैन ।’ उनले के नेकपा पुरानै अवस्थामा फर्केला ? भनेर अहिले चौतर्फी प्रश्न आइरहेको बताए । यसको जवाफ पार्टी बनाएर दिने बताउँदै उनले भने,‘पार्टी बन्छ, बन्नैपर्छ र बनाएरै देखाईन्छ । नबनाएर सुखै छैन ।’
नेकपा गण्डकीका सहईञ्चार्ज श्रीनाथ बरालले निरकुंश घण्टी सरकारबाट देश र जनालाई मुक्त गर्न नेकपामा जागरण आवश्यक रहेको बताए । पुराना लोकतान्त्रिक पार्टीको विकल्प वर्तमान घण्टी सरकार र उसको पार्टी हुनै सक्दैन,उनले भने,‘जनतामा टुटेको सम्बन्ध र छुटेको विस्वास फर्काउन जागरण अभियान सफल बनाएरै छाड्छौं ।’
नेकपा कास्कीका पूर्व ईञ्चार्ज राजकाजी गुरुङले जागरण अभियान आफूलाई पनि रुपान्तरण गर्ने अभियान भएको बताए । हिजो भएका कमीकमजोरी सुधार्दै पार्टीलाई सुदृढ बनाउनु यो अभियानको मुख्य उद्धेश्य हो,उनले भने,‘नयाको नाममा भइरहेको अराजकता, कुशासन र घृणाबाट मुक्त गराई राष्ट्रिय स्वाधिनता जोगाउन, सार्वभौकिता जोगाउन र नया लेण्डुप दोर्जेहरुबाट देश जोगाउनका लागि जनतालाई बुझाउनु पनि यसको मक्सद हो ।’
कास्की सहईञ्चार्ज तेजकुमारी पौडेलले संकटमा फसेको देशलाई उन्मुक्ति गराई सरकारले गरेका गलत कदम र कामकारवाहीको भण्डाफोर गरि जनताको विस्वास जित्ने प्रयास जागरण अभियानमा गरिने बताईन् ।
दुई महिने अभियान अन्तर्गत मंसिर ११ गतेदेखि जनतासँग भेटघाट कार्यक्रम सञ्चालन हुने नेकपा कास्कीका सहसंयोजक विनय थापाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई व्यवस्थित गर्न र…







