सहकारी शिक्षा र वित्तीय सचेतनाका लागि कलम सहकारीको पहल


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०८३ मा प्रकाशित




पोखरा ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सदस्य शिक्षा तथा वित्तीय सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि सहकारीका पुर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन प्रसाद पोखरेलले सहकारी संस्थाको सफलताका लागि सदस्यहरूको सक्रिय सहभागिता, आपसी विश्वास र पारदर्शिता महत्वपूर्ण हुने बताए । उनले सहकारी सदस्यहरूको आर्थिक तथा सामाजिक उन्नतिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सदस्यहरूले सहकारीको उद्देश्य, नीति, नियम तथा सिद्धान्तलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष मनोहरि सापकोटाले धन्यवाद ज्ञापन गर्दे सहकारी संस्थालाई व्यवस्थित, पारदर्शी र दिगो रूपमा सञ्चालन गर्न सञ्चालक समिति, कर्मचारी तथा सदस्यहरूबीच सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका विज्ञ सदस्य तथा जिल्ला सहकारी संघ कास्कीका महासचिव दिपकप्रकाश आचार्यले प्रमुख प्रशिक्षकका रूपमा प्रशिक्षण दिएका थिए । उनले सहकारीको सदस्य शिक्षा, वित्तीय सचेतना, बचत तथा ऋण व्यवस्थापन र सहकारीका सात सिद्धान्तका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए ।

प्रशिक्षणका क्रममा सहकारीको मूल मर्म, सदस्यहरूको अधिकार तथा कर्तव्य, वित्तीय अनुशासन र सहकारीको दिगोपनाका लागि सदस्यहरूको भूमिकाबारे प्रकाश पारिएको थियो। कार्यक्रममा सहकारीका उपाध्यक्ष रमेशराज बरालले स्वागत तथा सचिव लाल प्रसाद पाठकले कार्यक्रम सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।