मानव सेवा आश्रममा ‘एभरेस्ट एफएम कक्ष’ निर्माण पूरा, एभरेस्ट एफएमले बुझायो पाचौं किस्ता


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०८३ मा प्रकाशित




पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रममा ‘एभरेस्ट एफएम कक्ष’ निर्माणका लागि सम्झौता अनुसारको सबै किस्ता बुझाएको छ । यसअघि वार्षिक रुपमा चार वर्षसम्म एक/एक लाखको दरले चार किस्ता तिरिसकेको एफएमले शनिबार पाचौँ तथा अन्तिम किस्ता स्वरुप एक लाख प्रदान गरेसँगै ‘एभरेस्ट एफएम कक्ष’ निर्माणका लागि आवश्यक सबै किस्ता तिरिसकेको हो ।

एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “एभरेस्ट एफएम” कक्ष निर्माण गर्ने सम्झौता गरेको थियो । सम्झौता अनुसार शनिबार पाचौं तथा अन्तिम किस्ता तिरेको एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । एफएमको छैटौं वार्षिकोत्सवको अवसरमा शनिबार एफएम प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङ र निर्देशक धना रायमाझीले मानव सेवा आश्रम कास्कीका संयोजक सदीस पुनलाई रकम हस्तान्तरण गरिन् ।

रकम ग्रहणपछि बोल्दै मानव सेवा आश्रम कास्कीका संयोजक सदीस पुनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गरेर एभरेस्ट एफएमले सञ्चारमाध्यमको दुनियामा उदाहरणीय कार्य गरेको बताए । प्रतिबद्धता अनुसारको सबै रकम तिरेकोमा एफएमलाई धन्यवाद दिदै उनले भने,‘तपाईंहरुले गरेको प्रतिबद्धता पूरा गर्नुभयो, त्यसका लागि धन्यवाद छ, हामीले एभरेस्ट एफएम कक्ष निर्माण गरिसकेका छौं, चाँडै नै सो कक्षमा आश्रितहरुलाई राखेर हामी पनि प्रतिबद्धता पूरा गर्छौं ।’

एफएम स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।