सन्देश श्रेष्ठ
पोखरा, मंसिर १२
पर्यटनको राजधानी पोखरामा आयोजित दाईं महोत्सवमा पर्यटकहरु रमाएका छन् । पोखरा पर्यटन परिषदको आयोजनामा शनिबार पोखरा–२९ नौविसे सिसुवामा आयोजित दाईं महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटक रमाएका हुन् ।
परम्परागत दाईं लोपोन्मुख अवस्थामा पुगेको बेला परिषदले शनिबार दाईंको महोत्सव नै गरेर पर्यटकको ध्यान खिच्न सफल भयो । विहानैदेखि आयोजित दाईंमा विदेशी पर्यटकसमेत गोरु धपाउने (खेद्ने)देखि दँदेरा लगाउने, परालको भारी बाँध्ने, कुनियो लगाउनेसम्मका कार्यमा जुटे । रमाईलोका लागि पुगेका विदेशी पर्यटक गोरु धपाउँदा मख्ख देखिन्थे भने दँदेरा लगाउँदा होस् वा परालको भारी बाँध्दा अनौठो र रमाईलो मानेर अभ्यास गर्थे । कहिल्यै धान चुटेको नदेखेका पर्यटक आश्चर्य मान्दै हेरे र आफू पनि सहभागी भएर रमाईलो गरे । त्यतिमात्र होईन पर्यटकसहित सहभागी सबैलाई खाना र खाजा परालको माथि र बारीको पाटामा बसाएर खुवाउँदा छुट्टै वातावरण बनेको थियो । त्यसमाथि आगन्तुक विदेशी पर्यटकहरुलाई फुलामाला लगाएर पन्चे बाजाले स्वागत गर्दा माहोल नै रमाईलो बनेको थियो ।
दँदेरालाई टोपी हस्तान्तरण गरेर महोत्सवको उद्घाटन गरेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य आफैले पनि धान चुटे । कृषि पर्यटनलाई जोड्न दाईं महोत्सव कोशेढुंगा सावित हुने बताउँदै उनले भने,‘यसले कृषि गर्नलाई पनि प्रोत्साहित गर्छ र पर्यटकलाई पनि आकर्षित गरेर पर्यटकको आगमनमा बृद्धि ल्याउनुका साथै पर्यटकको बसाई लम्ब्याउन पनि सघाउँछ ।’
शनिबार आयोजित दाईं महोत्सवमा ८ देशका ५० भन्दा बढी पर्यटक सहभागी भएको कार्यक्रम संयोजक तथा पोखरा पर्यटन परिषदका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिए । उनले भने,‘नेपाली मौलिक कला, संस्कृति र परम्परागत कृषि जीवनशैलीको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा पर्यटक रमाए । यसले हामीलाई हौषला थपेको छ ।’
नेपाली गाउँघरको कृषि जीवनशैली, सामूहिक श्रम र परम्परागत खेती प्रणालीबारे प्रत्यक्ष अनुभव लिन पाउँदा विदेशी पर्यटक उत्साहित भएको आफूले पाएको पर्यटन प्राध्यापन गरिरहेका उपप्राध्यापक दीपेन्द्र पहारीले बताए । ‘यसले पर्यटनमा नया आयाम थप्छ’–उनले भने ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले जति धेरै ईभेन्ट आयोजना भयो त्यति नै पर्यटकको आगमन र बसाई लम्बिने बताए । कृषि पर्यटनको माध्यमबाट पर्यटकको आगमन र बसाई दुबै बढाउन सकिने उनको भनाई थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले नया पुस्तालाई कृषि पर्यटनमा लगाउनसके त्यसले आर्थिक समृद्धिमा सघाउने बताईन् । हाम्रै नवयुवा परम्परागत कृषि प्रणालीबारे बेखबर छन्,उनले भनिन्,‘ती युवालाई कृषिमा अभ्यस्त गराएर पर्यटनसँग जोड्न सके पर्यटन क्षेत्रमा नया आयाम थपिनसक्छ ।’
महोत्सवका अवसरमा ११७ रोपनी क्षेत्रफलमा ३६० मुरी धान उत्पादन गरेका पोखरा–२७ का किसान शिवप्रसाद भण्डारीलाई उत्कृष्ट किसान घोषणा गर्दै पुरस्कृत गरिएको थियो । त्यस्तै, पोखरा–१३ का मिलन अधिकारीलाई दोस्रो उत्कृष्ट किसान र पोखरा–२८ का सोवित अधिकारीलाई तेस्रो उत्कृष्ट किसान घोषणा गर्दै पुरस्कृत गरिएको थियो ।
महोत्सवमा परम्परागत कृषि कर्मको झल्को दिन खाना र खाजा पनि परालको माथि र बारीको पाटामा बसाएर खुवाइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए । ‘दाई महोत्सवमार्फत नेपाली मौलिक संस्कृति र परम्परागत कृषि प्रणालीको संरक्षणसँगै कृषि तथा पर्यटनलाई एकअर्कासँग जोड्ने प्रयास भएको छ ।’ यस्ता कार्यक्रमले पोखरालाई प्राकृतिक सुन्दरतासँगै मौलिक संस्कृति, ग्रामीण जीवनशैली र कृषि पर्यटनका माध्यमबाट समेत स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न मद्धत पुग्ने उनको अपेक्षा छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, मंसिर १२ पर्यटनको राजधानी पोखरामा आयोजित दाईं महोत्सवमा पर्यटकहरु रमाएका…







