रेवान पोखराद्वारा होटल, रेष्टुरेण्टका सेफ तथा म्यानेजरहरुलाई स्वच्छ खाद्य सेवा तालिम प्रदान


     एभरेस्ट आवाज    
     असार २२ गते २०८२ मा प्रकाशित




२२ असार,पोखरा

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल रेवान पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा एक दिने रेस्टुरेन्ट तथा होटलमा सुरक्षित र स्वच्छ खाद्य सेवा तालिम कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालय प्रमुख मणीराज लामिछानेले पोखरा पर्यटकीय राजधानी सहर भएकाले यहाँ आउने पर्यटकलाई स्वास्थ्य खाना पस्किनुपर्नेमा जोड दिए । तालिम पश्चात् पोखराको खाद्य गुणस्तरमा थप सुधार आउने उनले अपेक्षा व्यक्त गरे ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पछिल्लो समय पोखराका रेस्टुरेन्ट तथा होटलका भान्साघरमा उल्लेख्य सुधार आएको बताउनुभयो । पाहुनाहरूलाई स्वस्थकर खानाले स्वागत गर्नका लागि रेवानले बेलाबखत आफु मातहतका रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरूलाई खाद्य सचेतना सम्बन्धी तालिम प्रदान गर्दै आएको जानकारी दिए ।

के कस्ता खाद्यवस्तु प्रयोग गरी खानालाई सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा तालिम केन्द्रित रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले बताए । कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवर र प्रदिप काफ्लेले तालिममा सहजिकरण गरेका थिए ।

एकदिन तालिममा विभिन्न होटल तथा रेस्टुरेन्टमा कार्यरत ८० जना म्यानेजर तथा सेफहरूले भाग लिएका थिए । रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले तालिममाथि प्रकाश पार्दै तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।