लोक गायक स्व.कल्याण शेरचनको प्रतिमा स्थापनामा आर्थिक अभाव

- सहयोगका लागि अपिल


     एभरेस्ट आवाज    
     श्रावण २२ गते २०८२ मा प्रकाशित




पोखरा, साउन २२

बहुआयामिक व्यक्तित्व स्व.कल्याण शेरचनको प्रतिमा स्थापनामा आर्थिक अभाव भएको छ । शिक्षा, संगीत र खेलकुदमा जीवन समर्पण गरेका स्व.शेरचनको मरणोप्रान्त प्रतिमा स्थापना गर्न आर्थिक अभाव भएको हो ।

२००३ साल साउन १२ गते जन्मेर २०६७ साल माघ १६ गते स्वर्गारोहण भएका शेरचनले ‘कलिलो तामालाई सोध रामलाई’, ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ’, ‘च्याङ्बा होइ च्याङ्बा, डम्फूले आज के भन्छ ?’, ‘सुख ज्यानलाई गुँदरी काम्लो’, ‘ए भेना यो साल, ल्याइदेऊ मलाई पछ्यौरी मलमल’, ‘रात काटें रोएर, दिन काटे जसरी तसरी’, ‘घर मेरो खुदीमा, बुढो भयो ठूली के जानु रोंधीमा ! लगायत दर्जनौं कालजयी गीत उपहार दिएका छन् । लोक गायनमा छुट्टै छाप छाड्न सफल स्व.शेरचनलाई नेपालमा मास पिटी भित्राएर विद्यालय र संघसंस्थामा खेलाउने अभियान चलाएको श्रेय पनि जान्छ । त्यतिमात्र होईन, उनी एथ्लेटिक्स खेलाडी पनि हुन् ।

उनै बहुआयामिक व्यक्तित्व शेरचनको प्रतिमा कल्याण शेरचन स्मृति प्रतिष्ठानले पोखरा–१८ राष्ट्रिय सहिद तथा विभूती पार्कमा स्थापना गर्न लागेको छ । जसका लागि पार्क व्यवस्थापन समिति र पोखरा महानगरपालिकाबाट अनुमति लिइसकिएको छ भने स्व.शेरचनको पूर्ण कदको शालिक निर्माण भइसकेको छ । स्व.शेरचनकै उचाई बराबरको ५ फुट ५ ईञ्चको शालिक निर्माण गरेर पोखरा ल्याईसकिएको छ भने राख्ने ठाउँमा निर्माण कार्य भइरहेको प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर ह्योल्मोले जानकारी दिए । प्रतिमा स्थापना गर्न कुल ४० लाख लाग्ने उनले बताए । ‘तर अहिलेसम्म आधा पनि खर्चको जोहो हुन सकेको छैन’–उनले भने । उनका अनुसार १४ लाख संकलन भइसकेको छ भने ५ लाख वचन दिएकाले दिन बाँकी छ । करीब २१ लाख भने अपुग भएकाले हारगुहार गर्ने काम भइरहेको छ ।

उनका अनुसार प्रतिमा पोखरा–१३ आर्वा स्थायी घर भई राष्ट्रबैंक चोकका विष्णु बरालले काठमाडौं लगनखेलमा बनाएका हुन् । जुन निर्माणका लागि ९ लाख ५० हजार खर्च भएको छ भने सो प्रतिमा पोखरा ल्याउँदा करीब ९० हजार खर्च थपिएको छ । पूर्ण कदको यो प्रतिमा १५० केजीको छ भने यसमा धातु, ढलोट, पित्तल, तामा, काँस र अलिअलि जस्ताको समिश्रण गरिएको सचिव दाहालले जानकारी दिए ।

प्रतिमा विभूती पार्कस्थित दिवंगत एमाले नेता रवीन्द्र अधिकारीको प्रतिमा भन्दा करीब १० मिटर उत्तरतर्फ राखिने प्रतिष्ठानका सचिव जीवन दाहालले जानकारी दिए । जहाँको करीब चार आना क्षेत्रफलमा प्रतिमा स्थापना गरिनेछ । प्रतिमा स्थापनाका लागि ३५ फुट लम्बाई र २२ फुट चौडाईको प्रतिमा स्थल बनाईंदैछ । जसको काम राजु पौडेलले गरिरहेका छन् भने त्यहाँ प्रतिमामा ग्रिनाईड हालिनेछ ।

प्रतिमा स्थलसहितको क्षेत्रमा गर्ने, केहि क्षेत्रमा ढुंगा छाप्ने, प्रतिमालाई छपनीले छोप्नेदेखि वरीपरी फलामको साङ्लाले घेर्नेसम्मको योजना बनेको छ । त्यसबाहेक अहिले पछिल्लो क्रममा प्रतिमा स्थलको चार आना क्षेत्रफलमा नै कम्पाउण्ड बनाउने, टिनको ट्रस हाल्ने र त्यहाँ फलामको कुर्सी राख्ने योजना थपिएको सचिव दाहालले बताए । ‘त्यहाँ पुग्नेलाई बस्न सजिलो होस् भनेर हामीले यो योजना पनि थपेका छौं’–उनले भने । त्यस्तै, शिलालेख पनि राखिने भएकाले यसका लागि पनि छुट्टै खर्च थपिने उनले बताए । यो सबैगर्दा प्रतिमा निर्माण बाहेक २० लाख खर्च लाग्ने अनुमान प्रतिष्ठानको छ । त्यसबाहेक प्रतिमा अनावरण कार्यक्रम भव्य गर्ने र त्यसमा पोखरेली लब्ध, प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गर्ने योजना रहेकाले त्यसका लागि पनि बजेट आवश्यक पर्छ ।

आर्थिक अभाव भएपछि प्रतिष्ठान अहिले सरकारदेखि व्यक्ति र संघसंस्था गुहार्दै घरदैलो गरिरहेको छ । सहयोग गर्ने आश्वासन पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले दिएको छ तर यति नै आउँछ भन्ने यकिन नभएको प्रतष्डठानका अध्यक्ष पूर्णबहादुर ह्योल्मोले बताए । मेयर धनराज आचार्यले सहयोग गर्ने वचन दिनु भएको छ,उनले भने,‘तर कति हो भन्नु भएको छैन ।’

गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापालाई पनि प्रतिष्ठानले सहयोगका लागि आग्रह गर्दै मंगलबार भेटेको छ । उनले पनि सहयोग गर्ने आस्वासन दिएको तर रकम नबोलेको अध्यक्ष ह्योल्मोले बताए । स्व.शेरचनप्रति श्रद्दाञ्जली अर्पण गर्ने हो भने दिल खोलेर सहयोग गरौं,उनले भने,‘कल्याण्डाले बिर्सनै नसकिने योगदान गर्नु भएको छ । उहाँको प्रतिमा स्थापनाका लागि सहयोग गर्नू हामी सबैको कर्तव्य हो ।’ उनले सहयोगी मनहरुलाई सहयोगका लागि अपिलसमेत गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।