दीगो पर्यटनमा साझेदार खोज्दै पोखरा

- बन्दीपुर र गोरखासँग सहकार्यको प्रस्ताव


     एभरेस्ट आवाज    
     भाद्र २ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ २

पर्यटनको राजधानी पोखराले पर्यटनमा साझेदार खोज्न शुरु गरेको छ । पर्यटनको राजधानी घोषणालगत्तै पोखरा भ्रमण वर्ष–२०२५ घोषणा गरेको पोखरा पर्यटनमा साझेदार खोज्दै विभिन्न पालिका पुगेको हो । भ्रमण वर्ष–२०२५ मा मात्रै १५ लाख पर्यटक भित्राउने लक्ष्य राखेको पोखराले पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिको अगुवाईमा पहाडकी रानी बन्दीपुर र नेपालको एकीकरणको शुरुवात भएको ऐतिहासिक स्थल गोरखा नगरपालिकालाई पर्यटनमा साझेदार बन्न आग्रह गरेको हो । यी दुई ठाउँबाट साझेदार खोज्ने अभियान शुरु गरेको पोखराले निकट भविष्यमा चितवनको भरतपुर जाने योजना बनाएको छ भने गण्डकी प्रदेशका ८५ वटै पालिका पुग्ने पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपीबहादुर भट्टराईले जानकारी दिए ।

पर्यटन एक्लो प्रयासले मात्र सफल नहुने भएकाले साझेदार खोजिएको संयोजक भट्टराईले बताए । नेपाल आएका सबै पर्यटकलाई पोखरा ल्याउने र पोखरा आएका पर्यटकलाई नजिकका पर्यटकीय गन्तव्यहरुमा लैजानका लागि सहकार्य आवश्यक भएको उनको भनाई छ । बन्दीपुर, गोरखा, भरतपुरलगायतका पर्यटकीय गन्तव्यमा आएका पर्यटकहरुलाई पोखरा ल्याउने वातावरण बनाउनुपर्छ,उनले भने,‘अनि पोखरा आएका पर्यटकलाई ती ठाउँमा हामी पनि पठाउँछौं, यसले दीगो पर्यटनमा सघाउँछ ।’ जसका लागि एकले अर्कोलाई प्रवद्र्दन गर्ने, सहकार्य गर्नुपर्ने उनको भनाई छ ।

पोखरा महानगरपालिकाका प्रवक्ता तथा पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले पर्यटनमा सहकार्यमार्फत सबैले लाभ लिनसक्ने वातावरण निर्माणका लागि पोखराले अभियान सञ्चालन गरेको बताए । यसको लाभ सबैले पाउँछ,उनले भने,’त्यसैले हामी सहकार्य गरौं, पोखरा आएका पर्यटकलाई अन्य ठाउँमा हामी पठाउँछौं, तपाईंहरु पनि पोखरा पठाईदिनूस् ।’

पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका सह–संयोजक दामोदरभक्त थापा सहकार्यबाट मात्र पर्यटनमा उछाल ल्याउन सकिने बताउँछन् । पर्यटक आदानप्रदान गर्न सकेमात्र सामुहिक लाभ लिन सकिने उनको भनाई छ ।

नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणीराज लामिछानेले पर्यटनमा एकअर्काले योगदान गर्न सके ठूलो उपलब्धी हात पर्ने बताए । एककोमा आएको पर्यटक अर्काकोमा पठाउने हो भने पर्यटकको बसाई लम्ब्याउन सकिन्छ,उनले भने,‘यसो भयो भने पर्यटकले गर्ने खर्च पनि बढ्छ ।’

पोखरा भ्रमण वर्ष-२०२५ कार्यसम्पादन समितिका सदस्य सचिव मनहर कडरियाले पर्यटनमा साझेदार बन्न सकियो भने त्यसले समग्र पर्यटनमा सकारात्मक प्रभाव पर्ने बताए । त्यसैको खोजी गर्न आफूहरु विभिन्न पालिकाको भ्रमणमा गएको बताउँदै उनले भने,‘मिलेर गर्दा सबैले लाभ लिन सकिन्छ । पर्यटक पनि विविधतामा रमाउँछन् ।’

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पर्यकको बसाई घट्दै गइरहेका बेला पर्यटकीय गन्तव्यबीच सहकार्य हुनसके बसाई लम्ब्याउन सघाउने बताए । पर्यटकको बसाई लम्ब्याउने चुनौति छ,उनले भने,‘तर हामीले मिलेर एकले अर्कालाई पर्यटक पठाउन सक्यौं भने त्यो चुनौति चिर्न सक्छौं ।’

गोरखामा भएको छलफलमा बोल्दै गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरले पर्यटनमा साझेदार बन्नु अपरिहार्य भएको बताए । पर्यटनमा साझेदार बन्ने पोखराको प्रस्ताव स्विकार्दै उनले भने,‘प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा आएका पर्यटकलाई नेपाल एकीकरणको शुरुवात भएको ऐतिहासिक स्थल गोरखा पठाउनूस्, हाम पनि गोरखा आएका पर्यटक पोखरा पठाउँछौं ।’

गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्केले पर्यटनमा साझेदार बन्न आफूहरु तयार रहेको बताए । एकतामा बल हुने भन्दै उनले भने,‘मिलेर सहकार्य गरौं, एउटा प्याकेज बनाएर अघि बढौं ।’

बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले बन्दीपुर पहाडको रानी भएजस्तै पोखरा प्रकृतिको राजा भएकाले आपसमा सहकार्य गर्नुपर्ने बताईन् । काठमाडौं आएका पर्यटक कसरी गण्डकीमा प्रवेश गराउने ? उनले भनिन्,‘काठमाडौंबाट हिंडेको पर्यटकलाई बन्दीपुरहुँदै पोखरा लैजाऔं, फर्किदा पनि एक रात बन्दीपुर बसाएर पठाऔं ।’ यसले दुबै ठाउँले लाभ लिन पाउने उनको भनाई थियो ।

बन्दीपुर भ्रमण वर्ष–२०२५ का संयोजक गणेश गुरुङले प्रमुख पर्यटकीय गन्तव्यहरुबीच सहकार्य हुन सकेमा दीगो पर्यटनमा टेवा पुग्ने बताए । त्यसको अगुवाई पोखराले लिनुपर्ने बताउँदै उनले अगाडि थपे,‘अहिलेसम्म एकल प्रयासमा पर्यटक आउने गरेका छन्, अब सामुहिक ईफोर्ट लगाऔं यसले हामीलाई सामुहिक फाईदा दिन्छ ।’

महिला व्यवसायी रामकली खड्काले पर्यटनमा विविधता खोजिनुपर्ने बताईन् । त्यसका लागि पनि पर्यटकीय गन्तव्यहरुबीच सहकार्य गर्न सकिने बताउँदै उनले भनिन्,‘गोरखा कच्चा पदार्थ उत्पादन गर्ने स्थल हो, बन्दीपुर चकटी, गुन्द्री उत्पादन गर्ने थलो हो, यसलाई जोगाएर पर्यटकलाई अवलोकन गराउने र पोखरामा पनि आउटलेट राखेर प्रवद्र्दन गर्न सकियो भने धेरै फाईदा लिन सकिन्छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।