जनजीवन सामान्य बनेसँगै सर्वेश्वर मार्ग-पराजुली मार्गका व्यवसाय सञ्चालनमा


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०८२ मा प्रकाशित




पोखरा, भदौ २८

जनजीवन सामान्य बनेसँगै पोखराको होलसेल बजार सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसाय सञ्चालनमा आएका छन् । जेनजी आन्दोलनका कारण देश नै तनावग्रस्त बनेपछि ठप्प रहेको बजार जनजीवन सामान्य बनेसँगै सर्वेश्वर मार्ग, पराजुली मार्गका होलसेल व्यवसाय सञ्चालनमा आएका हुन् । शुक्रबार आंशिक रुपमा खुलेको बजार शनिबार भने पूर्ण रुपमा खुलेका छन् ।

प्रशासनले शनिबारदेखि कफ्र्यु र निशेधाज्ञा हटाएकाले सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीहरुले पसल सञ्चालन गर्न थालेको सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए । प्रशासनले कफ्र्यु र निशेधाज्ञा आदेश गरुञ्जेल हामीले पसल बन्द गरेर सघायौं,उनले भने,‘तर प्रशासनले आजदेखि कफ्र्यु र निशेधाज्ञा हटायो । त्यहि भएर हामीले पनि पसल खोलेर सेवा दिन थालेका छौं ।’

अध्यक्ष थापाले व्यवसाय सञ्चालनका लागि सुरक्षाको प्रत्याभूति प्रशासनले दिलाउनुपर्ने बताए । हामी व्यवसाय सञ्चालन गर्न तयार छौं,उनले भने,‘तर प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउनुपर्छ ।’

संस्थाका महासचिव विशाल अधिकारीले सर्वेश्वर मार्ग–पराजुली मार्गमा दशैंका सामानहरु आईसकेको बताए । नेपालीको महान चाँडहरुलाई मध्यनजर गरेर हाम्रा व्यवसायीहरुले सामान ल्याइसकेको उनको भनाई छ ।

सर्वेश्वर मार्ग र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको समितिका बरिष्ठ उपाध्यक्ष छवीलाल गौतमले बताए ।

होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।