क्षेतीको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले भने : आन्दोलनलाई भड्काएर ध्वंश गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्छ


     एभरेस्ट आवाज    
     भाद्र ३१ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ ३१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारी कार्यालयमा पुगेको क्षेतीको निरीक्षण गरेका छन् । मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सरकारी कार्यालयहरुमा भएको तोडफोड तथा आगजनीको मंगलबार निरीक्षण गरेका हुन् ।

जेनजी आन्दोलनका बेला मुख्यमन्त्री पाण्डे युएईमा थिए । कास्की समाज यूएईको कार्यक्रममा सहभागी हुन युएई गएका उनी सोमबार मात्र पोखरा फर्किएका हुन् । जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेश तनावग्रस्त भइरहँदा मुख्यमन्त्री पाण्डे भने विदेश सयरमा मस्त भएपछि उनको आलोचना भएको थियो । स्वदेश फर्किदा जोखिम हुने सन्देश पाएपछि उनले टिकट काटेर पनि फ्लाईट सारेको अहिले पोखरामा चर्चा छ ।

मुख्यमन्त्री पाण्डेले मंगलबार जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय शुरुमा निरीक्षण गरेका थिए । त्यसपछि उनी पोखरा–३ नदीपुरस्थित गण्डकी प्रदेश सभासमेत पुगेर आगजनीको क्षेतीको अवलोकन गरेका थिए । आगलागीका कारण गण्डकी प्रदेश सभा खण्डहर बनेको छ भने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि ठूलो क्षेती पुगेको छ । आगलागीका कारण दुबै ठाउँका भवनसँगै दुईपांग्रे तथा चारपांग्रे सवारी साधन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, क्यामेरा, टेलिभिजन, स्मार्टबोर्ड, कुर्सी, टेबल, दराज, सोफा लगायतका सामग्री जलेर नष्ट भएका छन् ।

मुख्यमन्त्री पाण्डेले मंगलबार नै जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालय, मुख्यमन्त्री निवासलगायतका संरचनामा लागेको आगोको क्षेतीको पनि निरीक्षण गरेका थिए ।

क्षेतीको निरीक्षणपश्चात मुख्यमन्त्री पाण्डेले सरकारी कार्यालयहरुमा तोडफोड तथा आगजनी गर्नेलाई कानूनी कारवाही गर्नुपर्ने बताए । उनले भने,‘आन्दोलनलाई भड्काएर ध्वंस गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्छ ।’ तर जेनजीका जायज मुद्दा र मागका विषयमा भने तीनै तहका सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ । मुख्यमन्त्री पाण्डेले ध्वंस भएका संरचनाहरुको छिट्टै पुर्ननिर्माण गरिने बताए । त्यसका लागि सहयोग गर्न उनले आम जनतामा अपिलसमेत गरे । उनले ध्वंस संरचनाका बाबजुद प्रदेश मातहतका कार्यालयहरुलाई सेवा सञ्चालनका लागि निर्देशन दिइसकेको उनले जानकारीसमेत दिए । भौतिक संरचना पुर्ननिर्माणका विषयमा भने संघ सरकारले लिने नीति र प्रदेशलाई दिने बजेटका आधारमा थप योजना बनाएर अघि बढ्ने उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।