तनहुँको व्यास नगरपालिकाले वडा नं १० स्थित बैरेनीमा बृहत् ‘बैरेनी जग्गा एकीकरण आयोजना’ सञ्चालन गरेको छ ।
दमौली बजार क्षेत्रमा अव्यवस्थित बसोबास बढ्दै गएपछि व्यवस्थित बस्ती विकास गर्ने योेजनाअनुरुप आयोजना सञ्चालन गर्न लागिएको हो । नेपाल सरकारबाट अध्ययन अवलोकनका लागि प्रक्रिया अघि बढाइसकेको आयोजना प्रमुख इञ्जिनियर रवीन्द्र मुलले बताए । उनले भने, “बाटो र पूर्वाधार भएकाहरुको हकमा ६ प्रतिशत र नभएकाहरुको हकमा ३० प्रतिशत कट्टा गरी जग्गाधनीलाई जग्गा फिर्ता गरिने छ, जग्गा घटे पनि जग्गाधनीले तीनगुणा बढी मुनाफा पाउने छन् ।”
नगरपालिकाले सोही वडास्थित बैरेनीमा २६२ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती विस्तारका काम भइरहेको जनाएको छ । उक्त आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको अवस्थामा पुनःअर्को ‘बृहत् बैरेनी जग्गा एकीकरण’ आयोजनाको परिकल्पना गरिएको नगरपालिकाले जनाएको छ । विसं २०८२ महिनाभित्र जग्गाधनीलाई स्थायी जग्गाधनी विकसित घडेरीको पुर्जा वितरण गर्ने लक्ष्यका साथ निर्माण अघि बढाइएको इञ्जिनियर मुलले बताए ।
विसं २०७९ मङ्सिर १४ गते सम्झौता गरी २०८५ सालसम्म ऋण सम्झौता रहेकामा तीन वर्षअगावै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उनले भने, “जमिनमुनिको कठिनाइ कार्य सकियो, अबको छ महिनाभित्र घडेरी छुट्याउने कार्य सम्पन्न गरिनेछ ।” उनका अनुसार अब नाला निर्माण, कालोपत्र, विद्युत् खम्बा, खानेपानी जडान, पार्क, खेल मैदान र दुई वटा विद्युत् ट्रान्समिटर जडान गर्नुपर्ने छ, ट्रान्समिटर जडानका लागि विद्युत प्राधिकरणसँग समन्वय गरिएको छ । बस्तीले साँघुरिँदै गएको दमौलीमा एकीकृत बस्ती बसाउन दीर्घकालीन सोचका साथ नगरपालिका अघि बढेको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए।
कूल रु १३ करोडमध्ये कोषले रु नौ करोड १० लाख ५० हजार ४०० र नगरपालिका तथा गण्डकी प्रदेशको रु चार करोड लगानी रहेको छ ।नगर विकास कोषसँग लिएको ऋण भुक्तानी गर्नुपर्ने अवधि छ वर्षको रहेको छ भने वार्षिक ब्याजदर आठ प्रतिशतमा ऋण लगानी गरेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति कास्कीले पोखराको बाराही घाटस्थित जग्गा,रत्न मन्दिर र हिमागृहको जग्गा…







