पोखरामा सयपत्री फूल : केजीको ३-४ सय, मालाको १००-१५० रुपैयाँ, थुङ्गाको २-५ रुपैयाँ


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, कात्तिक २

नेपालीको महान चाँड तिहारमा पोखरामा फुलको मालाको मूल्य ३ फरक दर कायम गरिएको छ । पोखरा महानगरपालिकाले फ्लोरीकल्चर एशोसियसन नेपाल, कास्की शाखासँगको सहकार्यमा फूलको मालाको मूल्य ३ फरक फरक दर कायम गरेको हो । पोखरामा तिहारका लागि सानो थुङ्गाको मालाको मूल्य एक सय रुपैयाँ, मध्यमस्तरको थुङ्गाको माला १ सय ३० रुपैयाँ र ठूलो थुङ्गाको मालाको मूल्य १ सय ५० रुपैयाँ कायम गरेको पोखरा महानगरपालिकाले जनाएको छ ।

तर फूलको थुङ्गाको आकार अनुसार एउटा मालाको मूल्य २ सयसम्म बेच्न पाईने सहमति भएको फ्लोरीकल्चर एशोसियसन कास्कीका अध्यक्ष सुवेदीको दाबी छ । ‘सामान्यतया सानो आकारको थुंगाको भए १००, मध्यम आकारको भए १३० र ठूलो आकारको भए १५० मा बेच्ने निर्णय छ, तर थुंगाको आकार र मालामा बढी थुंगा प्रयोग भएको अवस्थामा २ सय रुपैयाँसम्ममा बेच्न पाइने सहमति भएको छ’–उनले भने ।

त्यस्तै, फुलको एउटा थुंगाको मूल्य २ देखि ५ रुपैयाँ निर्धारण गरिएको महानगरले जनाएको छ । सयपत्री फूल ठूलो थुंगा ५ रुपैयाँ, मध्यम आकार भएको थुंगा ३ रुपैयाँ र सानो आकारको थुंगालाई प्रति थुंगा २ रुपैयाँ कायम गरिएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर तिमिल्सिनाले जानकारी दिए । महानगरले फूलको मूल्य प्रति थुंगा २ देखि ५ रुपैयाँ तोकेपनि भाईटीकाको दिन र त्यसको अघिल्लो दिन बजारमा फूलको अभाव देखाएर बिचौलियाहरुले प्रति थुंगा १० देखि २० रुपैयाँसम्म पु¥याउने गर्दछन् । त्यस्तै मालाचाहिं प्रतिमाला ५ सय भन्दा माथि बेच्ने गर्दछन् । जसका कारण आफूहरु ठगिनेगरेको उपभोक्ताको गुनासो बारम्बार आउने गरेको छ ।

तिहारमा सयपत्री फूल केजीको हिसाबले पनि बिक्री गरिन्छ । यस वर्ष महानगरले सयपत्री फूल थुंगा हेरेर प्रतिकेजी ३ सय देखि ४ सय रुपैयाँसम्म मूल्य तोकेको छ । महानगरले फूलको मूल्यसँगै पोखराका विभिन्न ठाउँमा तिहारका लागि फूल बिक्री केन्द्र पनि तोकेको छ । ती ठाउँबाहेक अन्य ठाउँमा असरल्ल राखेर फूल बिक्री गर्न नपाईने महानगरले स्पष्ट पारेको छ ।

पोखरामा भारतीय फूलको माला प्रतिबन्ध छ । तर तिहारमा मात्रै अनुगमन हुने भएकाले अन्य समयमा भारतीय फूलको माला बिक्रीहुँदै आएको छ । तर तिहारमा भने अनुगमनका कारण नभित्रिने दाबी गरिन्छ । यद्वपी लुकीछिपी ल्याएरपनि बेचेको भने पाईन्छ ।

पोखरामा तिहारका लागि करीब तीन करोड रुपैयाँ बराबरको फूल खपत हुने गरेको छ । पोखरा र लेखनाथसहित नजिकका क्षेत्रहरुमा झण्डै साढे दुई लाख फूल खपत हुने गरेको र त्यसमा करीब ३ करोड रुपैयाँ बराबरको कारोबार हुने भएको हो ।

तिहारका लागि पोखरामा आवश्यक फूल स्थानिय उत्पादनले धान्छ । स्थानिय उत्पादनले धान्ने फूलको बजार पोखरा एक्लैले भने धान्दैन । यहाँ खपत हुने फुल धादिङ, गोरखा, लमजुङ, तनहुँलगायतका छिमेकी जिल्लाबाट आयात हुने गरेको अध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार पोखरामा खपत हुने फुल मध्ये ८० प्रतिशत फूल स्थानिय पोखराका व्यवसायी र किसानले गरेको उत्पादनले धान्छ । त्यसबाहेक बाँकी २० प्रतिशत फूल छिमेकी जिल्लाबाट आउँछ ।

७० प्रतिशत किसान (सिजनल व्यवसायी)ले उत्पादन गर्दछन् भने बाँकी ३० प्रतिशत पुष्प ब्यबसायीले उत्पादन गर्नेगरेका छन् ।

एशोसियसनले तिहारमा पोखरामा उत्पादित फूलको माला नै दाजुभाईलाई लगाई दिन विगतका वर्षहरुदेखि नै आग्रह गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।