म्याग्दीको बुकेनी र धापुङ्ग गाउँमा पुल बनेपछि स्थानीयको खुसीयाली


     एभरेस्ट आवाज    
     कार्तिक ११ गते २०८२ मा प्रकाशित




म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएसँगै करिब दुई सय परिवार लाभान्वित भएका छन् ।

पुल निर्माण पछि एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको उपभोक्ता समितिका अध्यक्ष सविता रोकाले बताईन् । “धापुङ्ग र महेशका बासिन्दालाई वडा कार्यालय जान एक घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ”, उनले भनिन्, “बर्खामा न्युखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता पनि हटेको छ ।”पुलको सोमबार प्रतिनिधिसभाका निवर्तमान सदस्य तथा पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजाले उद्घाटन गरे ।

कुल रु ५७ लाख १० हजार ८६० लगानीमा उपभोक्ता समितिले निर्माण गरेको पुलबाट एक सय ९३ घरपरिवार लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ । उपभोक्ताले रु ६४ हजार ९६१ बराबरको श्रमदान गरेका छन् । रु ११ लाख ६६ हजार ४२४ मा स्टिल पार्टस् खरिद र उपभोक्ता समितिलाई रु ३१ लाख ८३ हजार ९१ भुक्तानी भएको छ ।

झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीले नाचगान गरेर खुसीयाली मनाएका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।