सन्देश श्रेष्ठ
पोखरा, कात्तिक १२
जिल्ला प्रशासन कार्यालय कास्कीले अन्नपूर्ण बेसक्याम्प,मर्दी हिमाल र खुमैडाँडा पदयात्रामा नजान आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार एक विज्ञप्ती निकाल्दै कास्कीलगायतका क्षेत्रमा मौषम खराब भएकाले मौषम नखुलेसम्म ती क्षेत्रहरुमा पदयात्रामा ननिस्कन आग्रह गरेको हो । उसले गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको रहेकाले सतर्कता अपनाउन पनि पर्यटकहरुलाई अपिल गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले सोमबारदेखि बुधबारसम्म हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा भारी हिमपात हुन सक्ने जनाएको छ ।
प्रशासनले पदयात्राका क्रममा पर्यटकहरुमा ‘लेक लाग्ने’ समस्या देखिनुका साथै कसैकसैलाई आपतकालीन उद्दार गर्नुपर्ने अवस्थासमेत सिर्जना भएको तथा कसैको ज्यानैसमेत गएकाले एकल रुपमा पदयात्रामा नगई सामुहिक रुपमा जान आग्रह गरेको छ । उसले हतार हतार गरेर यात्रा नगरी बिस्तारै उचाई लिन, मौषम सम्बन्धी जानकारी यथेष्ट जानकारी लिएर, खराब मौषममासमेत बच्नसक्नेगरी न्यानो तथा बाक्लो कपडा लैजान, खाने, बस्ने व्यवस्था गरेर मात्रै पदयात्रामा जानसमेत ध्यानाकर्षण गराएको छ ।
प्रशासनले ‘लेक लाग्ने’ लक्षण देखिएमा तुरुन्त तल झर्न पनि आग्रह गरेको छ ।
प्रशासनले पर्यटकीय गन्तव्यहरु सिक्लेश, घान्द्रुक तथा लान्द्रुकलगायतका क्षेत्रमा जाँदा यातायतका सवारी साधन सतर्कतापूर्वक चलाउन पनि आग्रह गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका–७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयका…







