बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका जोड्ने कागबेनी–छुसाङ नौ किलोमिटर सडक आजदेखि सञ्चालनमा आएको छ ।
शनिबारदेखि विभिन्न स्थानमा उपकरण प्रयोग गरी सुरु गरिएको कागबेनी–छुसाङ सडक आवश्यक मर्मतपछि आजदेखि सडकमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको पहलमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सुरक्षा निकाय र कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाको सहकार्यमा सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङ प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।
उनका अनुसार कागबेनी–छुसाङ अवरुद्ध सडक सञ्चालनमा आएसँगै बारागुङ मुक्तिक्षेत्र–३ छुसाङमा फसेका झण्डै ३५० भन्दाबढी सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् । कागबेनी–छुसाङसम्मको सडक सञ्चालनमा आए पनि कोरलानाका जोड्ने बारागुङ मुक्तिक्षेत्र–३ चैलेमा अवरुद्ध सडकको मर्मतका लागि उपकरणसहित टोली त्यसतर्फ प्रस्थान गरेको लामाले उल्लेख गरे । चैले सडक मर्मतका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट पनि टोली त्यसतर्फ आइसकेको उनको भनाइ छ ।
हिमपात र प्रतिकूल मौसमका कारण लोमान्थाङ–२ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवाप्रवाह प्रभावित भएको छ । मङ्गलबारको हिमपात र त्यसपछिको अविरल वर्षाका कारण मुस्ताङ भन्सार कार्यालयको सेवा अवरुद्ध बनेको मुस्ताङ भन्सार कार्यालयका अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए ।
भन्सार जाँचपासका लागि विद्युत् र इन्टरनेट सुविधा आवश्यकपर्ने भए पनि केही दिनयता उपल्लो मुस्ताङमा विद्युत् र इन्टरनेट सुविधा अवरुद्ध भएकाले भन्सार कार्यालयमा नेपाल–चीन आयात÷निर्यातका मालवस्तु जाँचपासमा हुन नसकेको भन्सार अधिकृत सुवेदीको भनाइ छ । विद्युत् र इन्टरेनट सेवा अवरुद्ध हुँदा कोरला नाकाबाट आयात गरिएका चिनियाँ सामान ढुवानी गरिएको झण्डै ५० भन्दाबढी मालवाहक कन्टेनर भन्सार कार्यालयमा रोकिएको भन्सार अधिकृत सुवेदीले बताए ।
कागबेनी–कोरला सडक अवरुद्ध हुँदा झण्डै १०० भन्दाबढी मालवाहक सवारी दुईदिनदेखि कोरला नाका जान नसकी जोमसोम र कागबेनीमै रोकिएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका…






