हुलाक सेवा विभागको द्रुत डाँक सेवा ४५ जिल्लामा, जेनजी आन्दोलनका क्रममा पोखरा निर्देशनालयमा करिब ६ करोडको क्षति


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०८२ मा प्रकाशित




शिशिर उजाड
पोखरा

हुलाक सेवा विभागले देशका ४५ जिल्लामा द्रुत डाँक सेवा संचालन गरेको छ ।कास्की सहित ४५ जिल्लामा बिस्तार भएको सेवा विदेशमा भने ३९ वटा देशसँग मात्रै सम्झौंता गरी संचालनमा आएको छ ।

दु्रत डाँक सेवा संचालनका विषयमा हुलाक सेवा विभागले आज पोखरामा गरेको आयोजना गरेका अन्र्तक्रिया कार्यक्रममा सेवालाई थप विस्तार गरी प्रभावकारी बनाईने बताईएको छ । विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले जेनजी आन्दोलनका कारण सेवा प्रवाहमा केही समस्या भएको बताईन् । उनले हुलाक सेवाका कामलाई जन उत्तरदायी बनाउने योजनामा जेनजी आन्दोलन केही असर पारे पनि सिमित स्रोत साधनका बिचमा पनि आफुहरु उत्साहका साथ लागेको स्पष्ट पारिन् ।उनले भनिन् स्थानिय तहसँग समवन्य गरी, सेवालाई थप प्रभावकारी बनाउँछौ । पछिल्लो विकसित प्रविधिलाई प्रयोग गरी हुलाक सेवालाई नागरिकसम्म पुर्याउने बताउँदै महानिर्देशक पंगेनीले स्थानियको श्रम,सिप र उत्पादनसँग पनि सहकार्य गरिने बताईन् ।

अन्र्तक्रियामा कार्यपत्र प्रस्तुत गर्दै विभागका निर्देशक लीलाराज पौडेलले स्मार्ट हुलाक सेवा संचालनका लागि विभागले तयारी शुरु गरेको बताए । उनले भने, स्मार्ट सेवाका लागि मापदण्ड मस्यौदा निर्माण गरिएको छ, अब छिट्टै कार्यान्वयनमा आउँछ । निर्देशक पौडेलले पुर्वाधारको पुर्नसंरचना आवश्यक रहेको बताउँदै, सेवा प्रवाहलाई आधुनिकीकरणमा जोड दिए । आन्तरिक डाँक शाखाका शाखा अधिकृत शालिकराम बस्यालले अर्को कार्यपत्र पेश गर्दै दु्रत डाँक सेवा विश्वनिय एवं भरपर्दो रहेको दावी गरे । उनले सेवा प्रवाहका बारेमा जानकारी दिदैं छिटो छरितो तवरले चलान तथा वितरण,अन्य निजी सेवा प्रदायकको तुलनामा सेवा लागत सस्तो,समय सीमावद्ध वितरण र सेवाग्राही केन्द्रित रहेको स्पष्ट पारे ।

विभागले दु्रत डाँक सेवा अन्र्तगत कास्की सहितका ११ जिल्लामा १ दिनमै, पर्वत, स्याङ्जा, तनहुँ सहितका १८ जिल्लामा २ दिनमा र बाकी ४८ जिल्लामा ३ दिनमा हवाइमार्गबाट डाँक ढुवानी गर्ने गरी सेवा दिएको जनाएको छ ।हुलाक निर्देशनालय पोखराका निर्देशक नारायणप्रसाद आचार्यले जेनजी आन्दोलनका क्रममा निर्देशनालयमा करिब ६ करोडको क्षति भएको जानकारी दिए । महेन्द्रपुलमा रहेको भवन आगलागीबाट क्षति पुगेको तथा पार्दीमा रहेको निर्देशनालयमा तोडफोड भएको बताए । उनले महेन्द्रपुलबाट दिदैंं आएको सेवा हाल पार्दी निर्देशनालयबाटै सुचारु भएको पनि बताए । यसअघि कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै युग अनुसारको सेवा प्रवाह गर्न सुझाव दिए । कार्यक्रममा लोकसेवा आयोग पोखराका उपसचिव ज्ञानेन्द्र पराजुली, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले सेवालाई प्रभावकारी रुपमा संचालन गर्न विभागको ध्यानाकर्षण गराए ।

सो कार्यक्रममा गोर्खा, तनहुँ, स्याङ्जा,लम्जुङका हुलाक कार्यालयका प्रमुख सहित कास्कीका संचारकर्मि तथा बिभिन्न संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।