गरिमा विकास बैंकले गरिमा रोड रेस आयोजना गर्ने, पोखरामा रक्तदान हुने


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०८२ मा प्रकाशित




गरिमा विकास बैंक लिमिटेडले “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ दोस्रो संस्करणको गरिमा रोड रेस, २०८२ आयोजना गर्ने भएको छ।

बैंकले १९ औं वार्षिकोत्सवको अवसर पारेर यही मंसिर ६ गते शनिबार महिला तथा पुरुष इभेन्टमा खुला प्रतियोगिता गर्न लागेको हो। प्रतियोगितामा खुला महिला तथा पुरुष तर्फ १० किलोमिटर, कर्पोरेट महिला तथा पुरुष तर्फ ५ किलोमिटर र भेट्रान महिला तथा पुरुष तर्फ समेत ५ किलोमिटरको हुनेछ । गत वर्ष खुला र कर्पोरेट विधामा मात्र रोड रेस प्रतियोगिता आयोजना भएकोमा यस वर्ष महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष उमेर पार गरेका प्रतियोगीहरुलाई समेत समेट्ने उद्देश्यले भेट्रान विधा थप गरिएको बैंकले जनाएको छ।

रोड रेस, २०८२ मा सहभागी खुलातर्फको दुवै समूहको विजेताले जनही ५० हजार र कर्पोरेट र भेट्रान तर्फ जनही ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन । साथै, खुला तर्फ दोस्रो स्थान हासिल गर्नेले र३५ हजार, तृतीय स्थान हासिल गर्नेले २० हजार ,चौथो स्थान हासिल गर्नेले र१५ हजार र पाँचौ स्थान हासिल गर्नेले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, कर्पोरेट र भेट्रान तर्फ दोस्रो स्थान हासिल गर्नेले जनही २० हजार तृतीय हुनेले १४ हजार ,चौथो हुनेले १० हजार र पाँचौ हुनेले ७ हजार नगद पुरस्कार प्राप्त बैंकले जनाएको छ ।

काठमाडौंको बालुवाटार स्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय रहने भवन परिसरबाट शुरु हुने रोड रेस प्रतियोगिताको खुला तर्फको प्रतिस्पर्धा बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को कार्यालय भवन पुगेर पूनः सोही बाटो हुँदै बालुवाटार पुगे पश्चात समापन हुनेछ । त्यसैगरी कर्पोरेट र भेट्रान तर्फको प्रतिस्पर्धा सोही स्थानबाट शुरु भई बाँसबारी स्थित न्युरो अस्पताल पुगेर पूनः सोही बाटो बालुवाटार पुगे पश्चात समापन हुनेछ । प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । सहभागी हुन चाहने धावकहरुले कार्तिक २८ देखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत् रजिष्टेशन गर्न सक्ने बताईएको छ। गत बर्षको गरिमा रोड रेसमा ओलम्पिक धावक सन्तोषी श्रेष्ठ सहित कुल ६ सय ५० जना प्रतिस्पर्धी सहभागि भएका थिए।यस वर्ष करिब १ हजार जना प्रतियोगी सहभागी हुने बैंकले अपेक्षा गरेको छ ।

वार्षिकोत्सवकै अवसरमा पोखरामा भने रक्तदान कार्यक्रम हुने भएको छ। बैंकको प्रदेश कार्यालय, सभागृह चोकमा मंसिर ७ गते बिहान रक्तदान कार्यक्रम हुन लागेको सभागृह शाखाका अप्रेसन ईन्चार्ज रामकुमारी अधिकारीले जानकारी दिईन्। कार्यक्रममा सहभागी भई रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुन बैंकले आग्रह गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।