मानव सेवा आश्रम, निर्माणमा जुट्यो दुई करोड ६६ लाख


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०८२ मा प्रकाशित




मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञमा अहिलेसम्म रु दुई करोड ६६ लाख सङ्कलन भएको छ ।

कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणमा महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञमा मङ्गलबार मात्रै रु एक करोड एक लाख सङ्कलन भएको कोषाध्यक्ष सरिता गौतमले जानकारी दिईन् । महायज्ञमा सोमबार रु ५५ लाख ५४ हजार रकम सङ्कलन भएको थियो । यस्तै आइतबार रु ३८ लाख सङ्कलन भएको थियो । महायज्ञमा मङ्गलबार अमेरिकास्थित बागलुङ समाज भर्जिनिया परिवारद्वारा मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सम्पन्नताका निम्ति रु पाँच लाख, बागलुङ नगरपालिका–२, आवारोड निवासी परोपकारी मनको धनी आदरणीय उमा शान्ति श्रेष्ठ र कृष्णकुमार श्रेष्ठलगायतको परिवारबाट रु पाँच लाख सङ्कलन भएको थियो । महायज्ञमा दानदाताको भीड नै लागेको छ ।

महायज्ञमा रु पाँच हजारदेखि पाँच लाखसम्म रकम सङ्कलन भइरहेको छ । महायज्ञमा रु १० करोड सङ्कलन गर्ने लक्ष्य रहेको छ । मानवीय सेवा सरिक हुँदै मनकारी दाताहरूले गच्छेअनुसारको दान गरिरहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । सडक आश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबारविहीन सडक मानवको पुनःस्थापनाका लागि निर्माणाधीन आश्रम बागलुङको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।

देश–विदेशमा रहेका बागलुङवासी, सङ्घ–संस्था तथा सहयोगी व्यक्तिले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरिरहेका छन् । महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्नेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।