प्रतिनिधी छनोटमा एमाले कास्कीमा बिबाद


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०८२ मा प्रकाशित




नेकपा एमालेको काठमाण्डौमा हुने ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट प्रक्रियाले एमाले कास्कीमा बिवाद भएको छ।

सहमतिका नाममा प्रतिस्पर्धा नै नगराई केन्द्रबाट खट्टिएका प्रतिनिधीले आफूखुशी महाधिबेशन प्रतिनिधि चयन गराएको भन्दै कास्कीमा कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । उम्मेद्वारहरुले नाम फिर्ता लिन नचाहेपछि जबरजस्ती गरिएको एक उम्मेदवारले बताए । प्रतिनिधी छनौटका लागि चुनाव नगराई सहमति कायम गर्ने जिम्मा पाएका जिल्ला अध्यक्ष बैन बहादुर क्षेत्री अधिकारीले आफुले पाएको जिम्मेवारी नेता जगतबहादुर विश्वकर्मालाई दिएको र उनले आफु खुशी प्रतिनिधी चयन गरेको केही नेताले जानकारी दिएका छन्।

पृथ्वी सुब्बा गुरुङ पक्षधर नेता विश्वकर्माले आफु निकटका नेताहरुलाई मात्र महाधिवेशन प्रतिनिधि बनाएको असन्तुष्ट पक्षधरहरुले आरोप लगाएका छन्। असन्तुष्टि जनाउने नेताहरुमा अधिकांश खगराज अधिकारी पक्षधर रहेका छन्।नेता विश्वकर्माले सहमतिका नाममा २३ जना प्रतिनिधिहरुको नाम तयार गरेका छन् । नयाँहरूलाई प्रवेश गर्न रोक्ने गरी एमालेले पुरानै नेताहरूलाई प्रतिनिधि बनाएको बताईएको छ ।

स्रोतका अनुसार कास्की निर्वाचन क्षेत्र १ बाट खुलामा जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी, सचिव दर्शन लामा, प्रदेश सांसद बेदबहादुर गुरुङ र टिकाराम पङ्गेनी छनोट भए । युवामा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, महिलामा रक्षा भट्टराई र विजया सुवेदी चयन भइन् । क्षेत्र नम्बर २ बाट खुलामा रामप्रसाद खनाल, तेजनारायण अधिकारी, रश्मि आचार्य र भेषराज बरालको नाम टुङ्गिएको छ । युवाबाट विजय पौडेल, महिलामा सिर्जना शर्मा र हिरा गिरी छनोट भएका छन् । क्षेत्र नम्बर ३ मा खुलातर्फ माधव बास्तोला, दिपक पौडेल, जगन्नाथ बास्तोला र लालबहादुर परियार, युवामा भरतमान गुरुङ तथा महिलामा शोभा पहारी र गीता विश्वकर्माको नाम टुङ्गो लागेको छ ।

उत्पीडित क्लस्टरमा प्रेम विश्वकर्मा र दामबहादुर विश्वकर्मा चयन भएका हुन् । आन्तरिक रूपमा नाम टुंगाएपनि सार्वजनिक भने गरिएको छैन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।