नेवाः मिसा पुचले आयोजना गरेको झ्व भ्वय भव्य रुपमा सम्पन्न


     एभरेस्ट आवाज    
     पौष १९ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, पुस १७

नेवाः मिसा पुच कास्कीले शनिबार आयोजना गरेको झ्व भ्वय भव्य रुपमा सम्पन्न भएको छ । नेवाः खल कास्कीको सहयोगमा मिसा पुचले नेवा छेँ भवन भीमसेनटोलमा आयोजना गरेको नेवारी सांस्कृतिक उत्सव झ्व भ्वयमा १ हजार ५ सय बढी सहभागी भए । जहाँ नेवार समुदायका युवा, युवतीदेखि बालबालिका र बृद्दबृद्दासम्मले झ्व भ्वय खाएका थिए भने गैरनेवार समुदायका पनि उत्तिकै सहभागी भए ।

झ्व भ्वय खान नेवार समुदायका पुरुषहरु दौरा सुरुवाल र महिलाहरु हाकुपटासीमा सजिएर आएका थिए । अझ पस्किएर दिनेसमेत नेवारी भेषभुषामा सजिएका थिए भने उनीहरुले नेवारी सभ्यता, संस्कार र संस्कृति अनुसार खानाहरु पस्किएका थिए । खानामा नेवारी परिकारहरु बनाइएको थियो । नेवार समुदायमा वासालाई सगुनको रुपमा दिएर पाहुनाको स्वागत गर्ने संस्कार झ्व भ्वयमा पनि पालना गरिएको थियो । शुरुमा वासासँगै चिउरासँग छोईलालगायतका सुख्खा परिकार, त्यसपछि ग्रेभी र झोलिलो पदार्थहुँदै अन्त्यमा डेजर्टका रुपमा चुसीफुसी खुवाएर बिदाई गरिएको नेवा मिसा पुच कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले जानकारी दिईन् । यो हाम्रो सांस्कृतिक उत्सव हो,‘यसले संस्कार, संस्कृति संरक्षण, सम्वद्र्दन र प्रवद्र्दन गर्न महत्वपूर्ण भूमिका खेल्छ ।’

नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले मिसा पुचको अगुवाईमा भएको झ्व भ्वय कार्यक्रम खाना संस्कृतिसँगै सभ्यता, संस्कार र संस्कृति पुस्तान्तरण गर्न कोशेढुंगा सावित भएको बताए । उनले यसलाई आगामी दिनमा पनि निरन्तरता दिईने बताए ।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले खाना संस्कृति जमिन र जीवनसँग अनुन्याश्रित भई खाद्य संस्कृतिका रुपमा परम्परादेखि नै चल्दै आएको बताए । पश्चिमा संस्कृतिको अतिक्रमणको चपेटामा परिरहेको नेवारी संस्कृतिको जगेर्नामा यसले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

नेवाःमिसा पुचःले संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्दनका लागि २०७२ सालदेखि हरेक ३÷३ वर्षमा यो कार्यक्रम गर्दै आएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस कोभिड–१९ का कारण बिचमा रोकिए पनि ३ वर्षअघिदेखि यो पुनः सुरु भएको हो ।
कार्यक्रममा निसा देसार लगायतका कलाकारहरुले सांगीतिक तथा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको कार्यक्रम संयोजक तथा नेवा मिसा पुचःकी उपाध्यक्ष शान्ती प्रधानाङ्गले जानकारी दिईन् ।

भोज फिस्टेल आईभिएफ फर्टिलिटी सेन्टर गैह्रापाटनको मुख्य प्रायोजना र पोखरा महानगरपालिका वडा नम्बर–९ को विशेष सहयोगमा सम्पन्न भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।