ओली एण्ड एसोसिएट्सले राष्ट्रव्यापी निबन्ध प्रतियोगिता गर्ने


     एभरेस्ट आवाज    
     माघ २४ गते २०८२ मा प्रकाशित




विगत एक दशक देखि पर्यटकीय राजधानी पोखराबाट शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्स पोखराले राष्ट्रिय स्तरको निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको बौद्धिक क्षमता, समालोचनात्मक सोच तथा सिर्जनशील लेखन सीप अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको संस्थाका प्रबन्ध निर्देशक तिलक प्रसाद लामिछानेले जानकारी दिएका छन्। प्रतियोगितामा शिक्षा विश्वव्यापी अवसरतर्फको मार्ग भन्ने शीर्षक तय गरिएको उनले बताए । लामिछानेका अनुसार सहभागी हुन चाहने इच्छुक विद्यार्थीहरुले माघ २७ गते सम्म २ सय ५० देखि ३ सय ५० शब्दभित्र सीमित रहेर सम्बन्धीत विषयमा आफ्नो निबन्ध अनलाइन तथा दूरी माध्यमबाट पठाउन सक्नेछन् ।

यस प्रतियोगितामार्फत विद्यार्थीहरूले शिक्षाले अन्तर्राष्ट्रिय स्तरमा कसरी अवसरहरूको ढोका खोल्न सक्छ भन्ने विषयमा आफ्ना विचार, दृष्टिकोण र अनुभव प्रस्तुत गर्ने अवसर पाउनेछन्। यससँगै प्रतियोगिताले विद्यार्थीहरूलाई भविष्यप्रति सचेत, जिम्मेवार र विश्वस्तरीय सोच विकास गर्न प्रेरणा प्रदान गर्ने विश्वास लिएको संस्थाले जनाएको छ। प्रतियोगितामा सहभागी हुन कुनैपनि शुल्क नलाग्ने र सहभागी निबन्धहरूको मूल्याङ्कन कुल एक सय अंकको आधारमा विषयवस्तु तथा सान्दर्भिकता, संरचना, भाषा, सिर्जनशीलता, प्रस्तुति र निष्कर्षका आधारमा गरिने समेत उनले बताए ।

उनले प्रतियोगिता पूर्ण रूपमा पारदर्शी, अनुशासित र शैक्षिक मर्यादाभित्र सञ्चालन गरिने उल्लेख गर्दै देशभरका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई उत्साहपूर्वक सहभागिता जनाउन समेत आग्रह गरेका छन्। यस प्रतियोगितामा प्रथम हुनेले नगद रु १५ हजार, द्वितीयले नगद रु १० हजार र तृतीयलाई नगद रु ५ हजार प्रदान गरिनेछ। यस्तै उत्कृष्ट सहभागीहरूलाई पदक तथा प्रमाणपत्र र प्रतियोगितामा सहभागी जनाउने सबैलाई प्रमाणपत्र प्रदान गरिने समेत आयोजकले जनाएको छ।

सन् २००२ मा स्थापित यस संस्था एक प्रतिष्ठित शैक्षिक परामर्श तथा अन्तर्राष्ट्रिय शिक्षा सेवाप्रदायक संस्था हो । यसले आफ्नो २४ वर्षको यात्रामा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा विश्वासिलो नाम बनाउन सफल भएको छ। यो संस्था नेपालको मुख्य शहरहरू काठमाडौं, पोखरा, विराटनगर, इटहरी, चितवन, बुटवल, ललितपुरका साथै अस्ट्रेलियाको सिड्नी, मेलबोर्न र भुटानको थिम्पुमा कार्यालयहरू रहेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।