पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड २५ लाख

- चालु वर्षको भन्दा १ अर्ब २० करोडले घट्यो पोखराको बजेट


     एभरेस्ट आवाज    
     असार ५ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असार ५

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करीब सवा ७ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाको १९ औं नगरसभामा उप प्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८३÷०८४ का लागि ७ अर्ब १५ करोड २५ लाखको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षको बजेट भन्दा १ अर्ब १९ करोड ८७ लाखले कम हो । चालु आर्थिक वर्ष २०८२÷०८३ मा पोखरा महानगरपालिकाले ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ःल्याएको थियो ।

महानगरले आर्थिक वर्ष २०८३÷८४ मा चालु तर्फ ३ अर्ब ९४ करोड ५० लाख अर्थात कुल बजेटको ५५.१ प्रतिशत र पुँजीगततर्फ ३ अर्ब २१ करोड ९ लाख ७२ हजार अर्थात कुल बजेटको ४४.९ प्रतिशत बजेट विनियोजन गरेको छ ।

विनियोजित बजेटमा खर्च व्यहोर्ने स्रोतहरुमा संघीय सरकार वित्तीय हस्तान्तरणको ३ अर्ब १५ करोड ३६ हजार प्राप्त हुने अनुमान गरिएको छ । जसमध्ये संघीय सरकार सशर्त अनुदानबाट २ अर्ब ६१ करोड ९१ लाख, संघीय सरकार विशेष अनुदानबाट ५ करोड ५० लाख, संघीय सरकार समपुरक अनुदान १ करोड ८२ लाख, संघीय सरकार समानिकरण अनुदान ४९ करोड ३७ लाख प्राप्त हुने उपमेयर गुरुङले बताईन् । यसैगरी गण्डकी प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणबाट ९ करोड १५ लाख ३६ हजार प्राप्त हुने अनुमान गरिएको उनले बताईन् । जसमध्ये प्रदेशको समपुरक अनुदानतर्फ ६० लाख, विशेष अनुदान ४० लाख र समानिकरण अनुदानतर्फ ८ करोड १५ लाख प्राप्तबाट प्राप्त हुने उनको भनाई छ ।

महानगरले आन्तरिक राजश्व परिचालनतर्फ कर क्षेत्रको अंश ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार हुने अनुमान गरेको छ । राजश्व बाँडफाँडबाट प्राप्त हुने १ अर्ब ३१ लाख १४ हजार र स्थानिय सरकारको आन्तरिक स्रोततर्फ २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार हुने उपमेयर गुरुङले बताईन् ।

महानगरले सँधै झैं यस वर्षपनि पूर्वाधार निर्माणमा सबैभन्दा धेरै बजेट बिनियोजन गरेको छ । शुक्रबार प्रस्तुत बजेटमा २ अर्ब ८९ करोड ५५ लाख बजेट पूर्वाधारका लागि विनियोजन गरिएको छ । यो कुल बजेटको ४०.४८ प्रतिशत हुन आउँछ । त्यस्तै, महानगरले वडा कार्यालयमार्फत खर्च गर्न ७२ करोड ४० लाख अर्थात १०.१२ प्रतिशत बजेट विनियोजन गरेको छ । महानगरले सामाजिक विकासतर्फ २ अर्ब ९ करोड ९७ लाख अर्थात २९.३६ प्रतिशत बजेट विनियोजन गरेको उप प्रमुख गुरूङले बताइन् । उनका अनुसार सामाजिक विकासको शिक्षातर्फ १ अर्ब ८५ करोड ६३ लाख अर्थात २५.९५ प्रतिशत र स्वास्थ्यतर्फ ४१ करोड ३६ लाख अर्थात ५.७८ प्रतिशत बजेट विनियोजन गरिएको उनले बताईन् ।

महानगरले प्रशासनिक तथा कार्यालय सञ्चालन र कार्यक्रम सञ्चालनका लागि १ अर्ब १० करोड ५९ लाख अर्थात १५.४६ प्रतिशत विनियोजन गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।