गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ताको प्रक्रिया गम्भीरतापूर्वक अघि बढाइने बताएका छन् ।
उनले निर्दोषलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा मुद्दामा पार्न नहुने भन्दै जघन्य अपराधका मुद्दामा कसैलाई पनि छुट नहुने स्पष्ट पारे । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा उनले सरकार वादी भई चलाइएका फौजदारी मुद्दा फिर्ता लिनेसम्बन्धी निर्देशिका, २०६६ को दफा ८ अनुसार मुद्दा फिर्ताबारे अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिए । “समितिले संवेदनशील भएर अनुसन्धान गरिरहेको छ, अब धेरै हुँदैन”, गृहमन्त्री गुरुङले भने । उनले प्रक्रिया ढिलो हुनुका कारण निर्दोष व्यक्ति अन्यायमा नपरोस् र कसैले शक्ति दुरुपयोग गरी प्रतिशोध लिन नपाओस् भन्ने विषयमा गम्भीरता अपाएको सुनाए ।
गृहमन्त्री गुरुङले समितिले दिएको सुझाव र प्रतिवेदनका आधारमा सम्बन्धित ऐन संशोधनलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए । ऐनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको उनको भनाइ छ । गृहमन्त्री गुरुङले कारागारको क्षमता र कैदीबन्दीको सङ्ख्याबीच ठूलो अन्तर रहेको उल्लेख गरे । हाल करिब २८ हजार कैदीबन्दी रहेकामा कारागारको क्षमता करिब १९ हजार मात्रै रहेको भन्दै भौतिक पूर्वाधार विकासका लागि विभिन्न कारागारको अवस्था अध्ययन एवं आवश्यक बजेट व्यवस्था गरिने समितिलाई जानकारी दिए । कारागारमा नाइके, भाइ नाइके र चौकीदार नियुक्तिको अभ्यासलाई पारदर्शी बनाइने बताउँदै मन्त्री गुरुङले केही समयका लागि चौकीदार नियुक्ति रोकिएको पनि बताए ।
उनका अनुसार व्यक्तिबीच प्रतिस्पर्धात्मक तथा पारदर्शी प्रक्रियाबाट छनोट गर्ने व्यवस्था गरिने प्रष्ट पारे । मन्त्री गुरुङले आर्थिक रूपमा कमजोर कैदीबन्दीलाई वैतनी वकिलमार्फत निःशुल्क कानुनी सहायता उपलब्ध गराइरहेको र कैदीकट्टासम्बन्धी नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको जानकारी दिए । कारागारको भौतिक संरचना सुधार प्राथमिकतामा राख्दै यसका लागि बजेट विनियोजन पनि गरिएको उनले सुनाए ।
गृहमन्त्री गुरुङले समितिको बैठकमा गृह मन्त्रालयका सचिव र प्रहरी अधिकारीमाथि उजुरीका आधारमा गरिएको व्यवहारप्रति असन्तुष्टि जनाए । उनले उजुरी परेकै आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने भन्दै आरोप पुष्टि नभएसम्म कसैको चरित्रहत्या हुने गरी निष्कर्षमा पुग्नु नहुने स्पष्ट पारे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन २९ पोखराको चिनारीका रुपमा निर्माण गरिएको ‘पोखरा घर’ सञ्चालनमा…





