,

तमु प्ये ल्हु संघ जिल्ला महिला समितिको चौथो अधिवेशन सम्पन्न,अध्यक्षमा खकी माया तमु निर्वाचित


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०८३ मा प्रकाशित




तमु प्ये ल्हु संघ जिल्ला महिला कार्यसमिति कास्कीको दशौँ स्थापना दिवस, वार्षिक साधारणसभा तथा चौथो अधिवेशन एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ। अधिवेशनले खकी माया तमुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा उमा तमु, सचिवमा पुष्प तमु, सहसचिवमा रत्न तमु, कोषाध्यक्षमा रामकुमारी तमु र सहकोषाध्यक्षमा रिश काशी तमु चयन हुनुभएको छ। सदस्यहरूमा उमा देवी तमु, डिल शोभा तमु, लिलु तमु, नुम माया तमु, कौमती तमु, टौसरी तमु, रामकुमारी तमु, नानी माया तमु, शान्ति तमु, संगीता तमु, सन्तोषी तमु, धनकुमारी तमु, सेती माया तमु, पारु तमु, पुष्प तमु र रिता तमु रहनुभएको छ।
बिहीबार तमु प्ये ल्हु संघको सभाहलमा आयोजित कार्यक्रममा बिहान शुभसाइतमा संघ जिल्ला पच्यु अध्यक्ष भीमबहादुर तमुले छ्योपा पूजा गरी स्वस्ती–शान्ति तथा सुख, समृद्धिको कामना गर्नुभएको थियो। औपचारिक कार्यक्रम जिल्ला महिला समितिका अध्यक्ष तिलमाया तमुको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि तमु प्ये ल्हु संघ केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक हितकाजी टु क्ल्हेप्री तमुले हालै राष्ट्रिय पञ्जीकरण विभाग, सिंहदरबारमा बोन धर्म दर्ता हुनु तमु समुदायका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले अब विवाह तथा जन्मदर्ता लगायतका सरकारी अभिलेखमा बोन धर्म उल्लेख गर्न समुदायलाई आग्रह गर्नुभयो।
तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष ओम बहादुर तमुले जिल्ला महिला समितिले संघका गतिविधि र अभियानलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। केन्द्रीय पूर्वअध्यक्ष रूपबहादुर तमुले विभिन्न आरोह–अवरोहका बीच निरन्तर कर्तव्यनिष्ठ र सेवाभावका साथ अघि बढ्दै सक्षम महिला नेतृत्वका रूपमा स्थापित हुन सफल भएकोमा बधाई दिनुभयो।
केन्द्रीय क्ल्हेप्री समितिका अध्यक्ष सन्तोष तमुले धर्म, संस्कार र संस्कृति संरक्षणका लागि सेमिनार, गोष्ठी तथा अन्तरक्रिया मार्फत जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। केन्द्रीय बोन लम समितिका अध्यक्ष चोक बहादुर लम तमुले प्ये छ्या संरक्षण तथा हस्तान्तरणका लागि आफूले हालसम्म तीन जना शिष्यलाई भार ग्रहण गराइसकेको जानकारी दिनुभयो।
युवा खेगीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले तुलमाया तमु र उहाँका श्रीमान् दीपक तमुले स्थापना गर्नुभएको कुलराम अक्षयकोषबाट दोर्दी गाउँपालिका, लमजुङका डम्बरबहादुर लम तमुलाई माला, फेटा, भाङ्ग्रा, सम्मानपत्र तथा नगद सहित सम्मान गरिएको थियो।
केन्द्रीय महिला समितिका अध्यक्ष बुद्धिमाया तमुले जिल्ला महिला समितिको आवश्यकता महसुस गरी तत्कालीन केन्द्रीय महिला समिति अध्यक्ष पुष्प तमुको कार्यकालमा २०७३ सालमा जिल्ला महिला समिति गठन गरिएको स्मरण गर्नुभयो।

त्यस्तै, गण्डकी प्रदेश अध्यक्ष कुलप्रसाद तमुले संस्थाले आफ्ना उद्देश्यअनुरूप प्रभावकारी गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। संघ कास्कीका अध्यक्ष निम बहादुर तमुले धर्मले मानिसलाई अनुशासित बनाउने बताउँदै बोन धर्मको प्रचार–प्रसारलाई व्यापक बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले यस विषयमा छिट्टै तमु हे तमु समाज पोखरा मार्फत अन्तरक्रिया कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो।
तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर तमुले सम्पूर्ण तमु एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले आयोजना गरिने कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्दै आगामी गतिविधिलाई अझ व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले जिल्ला महिला समितिलाई २० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएकोमा उहाँ र उहाँकी धर्मपत्नी हिन्दुमाया तमुलाई प्रशंसापत्र, फेटा, माला तथा दोसल्ला सहित सम्मान गरिएको थियो।
सम्पूर्ण क्षेत्रीय समाजहरूको तर्फबाट ढोर फिरफिरे तमु समाजका अध्यक्ष सुबेदार नन्दबहादुर तमुले शुभकामना दिनुभयो। क्षेत्रीय आमा समितिहरूको तर्फबाट श्री शान्त तमु समाजका अध्यक्ष चिजा तमुले संघले अघि सारेका अभियानलाई प्रभावकारी बनाउन महिला समितिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले घर–परिवारदेखि समाजसम्म संस्कार र संस्कृति हस्तान्तरण गर्ने प्रमुख आधार महिलाहरू नै भएकाले महिला नेतृत्वलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रम सफल बनाउन १५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुहुने मार्गी थिम्चें समाजका अध्यक्ष मनकाजी तमु लगायत आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई माला, दोसल्ला, फेटा र सम्मानपत्र द्वारा सम्मान गरिएको थियो।

उपाध्यक्ष खकी माया तमुले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा सचिव बिना तमुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा जिल्ला महिला समिति, जिल्ला समिति तथा जिल्ला युवा समिति कास्कीका तर्फबाट प्रस्तुत विभिन्न सांस्कृतिक नृत्यले सहभागीलाई मनोरञ्जन प्रदान गर्नुका साथै कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
नवनिर्वाचित अध्यक्ष खकी माया तमुले आगामी कार्यकालमा महिला सहभागिता, तमु धर्म, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।