गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए सामुहिक राजीनामा


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०८३ मा प्रकाशित




गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मंगलबार नै सरकारबाट बाहिरिने तयारी गरेका एमालेका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिएका हुन् ।

बुधबार बिहान बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरुले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाएका छन् ।नेपाली कांग्रेस नेतृत्वको बर्तमान सरकारमा एमालेका चार मन्त्री सहभागि थिए । सामुहिक राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल,कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री मन्त्री भीमबहादुर कार्की र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे छन् । आफुहरुले केहीबेर अघि मुख्यमन्त्री समक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले जानकारी दिए । केन्द्रमा नेकपा एमाले र अर्को कम्युनिस्ट पार्टीबीच नयाँ सहकार्य सुरु भएपछि गण्डकीमा पनि एमाले सरकारबाट बाहिरिएको हो । मुख्यमन्त्री पाण्डेले गएको २ वैशाखमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै उनीहरुलाई नियुक्त गरेका थिए ।

एमाले बाहिरिएसँगै मन्त्री बन्नका लागि कांग्रेसभित्र रस्साकसि सुरु भएको छ । सरकारलाई सर्मथन कायमै राखेका नयाँ शक्तिका फणीन्द्र देवकोटा भने मन्त्री बन्ने पक्का जस्तै भएको छ । राप्रपा भने सरकारमा सहभागी नहुने संकेत गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।