रसुवा घुम्न गएका परिवारका सदस्य सम्पर्कविहीन भएपछि पोखरेली आफन्त चिन्तित, अझै सुखद खबर आउने आस बाँकी


     एभरेस्ट आवाज    
     भाद्र ११ गते २०८३ मा प्रकाशित




पोखरा — रसुवामा बुधबार आएको बाढीपछि पोखराका चार जनासहित कास्कीका १४ नागरिक सम्पर्कविहीन छन्। आफन्तको अवस्थाबारे यकिन जानकारी नआएपछि पोखरामा रहेका परिवारजन चिन्तामा छन्। कतिबेला सुखद् खबर आउने हो भन्ने आशामा उनीहरू पर्खिबसेका छन्।
पोखरा लेकसाइडका अभिषेक आचार्य पेशाले इन्जिनियर हुन्। रसुवास्थित लाङटाङखोला हाइड्रोपावर प्रोजेक्टमा कार्यरत आचार्य बुधबार बिहान बाढी आएपछि सम्पर्कविहीन भएका हुन्।
आचार्यले बुधबार बिहान ८ बजे घरमा फोन गरेर काममा जाने बताएका थिए। त्यसपछि उनको फोन सम्पर्क हुन सकेको छैन। परिवारका सदस्यले भने उनी कतै सुरक्षित स्थानमा रोकिएका हुनसक्ने आशा गरिरहेका छन्।
‘हिजो बिहान ८ बजे घरमा फोन सम्पर्क भएको रहेछ। अब काममा जाने हो भनेर भन्नुभएको रहेछ। त्यसपछि सम्पर्क भएको छैन,’ आचार्यकी माइजू गायत्री बरालले भनिन्, ‘कतैबाट केही खबर आउँछ कि भनेर अत्यासलाग्दो अवस्थामा पर्खिबसेका छौँ। तर, केही खबर छैन।’
अपरिचित नम्बरबाट फोन आउँदा पनि परिवारमा आचार्यको खबर आएको हो कि भन्ने आशा पलाउने गरेको बराल बताउँछिन्।
‘नयाँ नम्बरबाट फोन आउँदा पनि आशा पलाउँछ। कतिखेर के कस्तो खबर आउने भनेर आत्तिएर बस्नुपरेको छ,’ उनले भनिन्।
आचार्यको खोजीका लागि सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराइसकिएको छ। तत्काल कार्यस्थलमा पुगेर खोजी गर्न सक्ने अवस्था नरहेकाले परिवारले कतै डाँडाकाँडा वा खोँचमा रोकिएको हुनसक्ने आशा गरिरहेको छ।
पोखरा–१४ समावेशीटोलका ४८ वर्षीय गोबिन्दबहादुर अधिकारी पनि बाढीपछि सम्पर्कविहीन छन्। टिमुरे भन्सार कार्यालयका सवारी चालक अधिकारी केही महिनाअघि मात्र रसुवा पुगेका थिए।
अधिकारी सम्पर्कविहीन भएपछि पोखरामा रहेका उनकी आमा, श्रीमती र छोराछोरीमा चिन्ता छाएको छ। परिवारमा रुवाबासी चलेको उनका छिमेकी माधवप्रसाद बरालले बताए।
‘तीजताकाको बिदामा घर आउने भनेर भनेका थिए। तर, एकाएक बाढीको चपेटामा परेपछि चिन्ता छाएको छ,’ उनले भने।
अधिकारीको हुलियासँग मिल्ने एक पुरुषको शव भेटिएको सूचना पाएपछि आफन्तले गएर हेरेका थिए। तर, शव अधिकारीकै हो भन्ने यकिन हुन सकेन। त्यसपछि परिवारमा झनै अन्योल बढेको छ।
‘सबैतिर अन्योलै अन्योल छाएको छ। परिवारका सदस्य बोल्न सक्ने अवस्थामा छैनन्,’ पत्रकार महासंघ कास्कीका अध्यक्षसमेत रहेका बरालले भने, ‘सुखद् खबरको पर्खाइमा परिवार तड्पिएको छ।’
आचार्य र अधिकारीसँगै पोखरा–१३ की बिनु गुरुङ र पोखरा–१५ की देवकुमारी गुरुङ पनि रसुवाको बाढीपछि सम्पर्कविहीन छन्। उनीहरू गोसाइँकुण्ड जाने भन्दै बुधबार बिहान पोखराबाट हिँडेका थिए।
पोखराबाट हिँडेका उनीहरू बिहान ९ बजेर २० मिनेटमा गल्छी पुगेपछि आफन्तसँग सम्पर्कमा आएका थिए। त्यसपछि रसुवातर्फ लागेपछि उनीहरूको सम्पर्क हुन सकेको छैन।
बिनुका आफन्त राजेश गुरुङका अनुसार भारतमा अध्ययनरत छोरीसँग बिनुले गल्छीबाट अन्तिमपटक भिडियो कलमा कुरा गरेकी थिइन्।
‘गल्छीमा आएर खाजा खाएर अब हामी रसुवाको गाडी चढ्छौँ भनेर बिनुले बिहान ९ बजेर २० मिनेटमा छोरीलाई फोन गरेकी रहिछन्। त्यसपछि कतै पनि सम्पर्क भएको छैन,’ उनले भने, ‘उनीहरू सवार बस नै त्यही बाढीको चपेटामा परेको अनुमान छ।’
बिनु आफैँ सक्रिय महिला भएकाले सामान्य समस्या परेको भए कतै न कतैबाट खबर गर्नसक्ने परिवारको भनाइ छ। त्यसैले उनीहरूलाई लिएर परिवारमा चिन्ता बढेको छ।
रसुवाको बाढीमा परेर सम्पर्कविहीन भएका व्यक्तिका परिवार तथा आफन्तले सामाजिक सञ्जाल र स्थानीय प्रशासनमार्फत खोजीका लागि पहल गरिरहेका छन्। लामो समयसम्म सम्पर्क नहुँदा परिवारजनमा आशंका पनि बढ्दै गएको छ।
कास्कीमा मात्रै १६ जनाले परिवारका सदस्य सम्पर्कविहीन भएको जानकारी प्रशासनमा गराएका छन्। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार तीमध्ये अधिकांश पोखराका छन्।
‘हामीलाई १६ जनाको विवरण आएको छ। तीमध्ये अधिकांश पोखराभित्रका छन्। केही बाहिरी जिल्लाका नागरिक पनि रहेका छन्,’ उनले भने, ‘उनीहरूको खोजीका लागि सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरेका छौँ।’
यस्तै, गोरखा जिल्ला प्रशासन कार्यालयमा ५१ जना सम्पर्कविहीन भएको जानकारी पुगेको छ। प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार तीमध्ये २८ जना पालुङटारका बासिन्दा हुन्। उनीहरू बस रिजर्भ गरेर गोसाइँकुण्ड जाने क्रममा सम्पर्कविहीन भएका हुन्।
‘एउटै बसमा गएका २८ जनासहितको टोली सम्पर्कविहीन भएको छ। हामीले सम्बन्धित जिल्लामा खोजीका लागि समन्वय गरेका छौँ,’ श्रेष्ठले भने।
गण्डकी प्रदेश सरकारले पनि विपत्मा परेका नागरिकको विवरण संकलन गरिरहेको जनाएको छ। प्रदेश सरकारका प्रवक्ता जितबहादुर शेरचनले भेटिएका शव व्यवस्थापनका विषयमा समेत छलफल भइरहेको बताए।
‘विपत्को यो बेलामा संघीय सरकारको सिंगो स्रोत नै लागेको छ। त्यसैले हामीसँग भिन्दै स्रोतसाधन पनि छैन,’ उनले भने, ‘स्रोत मात्र भएर हुँदैन, साधन चाहिन्छ, जुन संघीय सरकारले नै परिचालन गरिरहेको छ।’
यता पोखरामा रहेका परिवारका सदस्य भने फोनको प्रतीक्षामा छन्। अपरिचित नम्बरबाट आउने हरेक फोनले आफन्तको खबर आएको हो कि भन्ने आशा जगाउँछ। तर, यकिन खबर नआउँदा त्यही आशा फेरि चिन्तामा बदलिन्छ।
परिवारका सदस्यको एउटै चाहना छ—बाढीमा हराएका आफन्त सकुशल रहेको खबर सुन्न पाइयोस्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।