सन्देश श्रेष्ठ
पोखरा, भदौ १९
पोखरा–१४ समावेशीटोलका गोविन्द अधिकारी रसुवा टिमुरे भन्सारका कर्मचारी थिए । भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन् भएको १० दिन बित्दासमेत उनको अत्तोपत्तो भएन । बाढी आएकै दिनदेखि सम्पर्कविहीन् उनलाई जिवित भेटिने आश मरेमछि दशौं दिनमा आफन्तले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेका छन् । उनको कुशको शव शुक्रबार रामघाटस्थित सेती नदीमा सेलाइएको हो ।
अनेक प्रयत्नका बाबजुद नभेटिएपछि परिवारले आश मारेर कुशको शव बनाएर अन्त्येष्टि गरेको छिमेकी घनश्याम पाण्डेले जानकारी दिए । सम्पर्कविहीन् भएको दिनदेखि नै खोजी शुरु गरेको हो,उनले भने,‘बाढी गएको ठाउँ रसुवादेखि काठमाडौं, पोखरा, चितवनसम्म खोज्दा पनि केहि पत्ता लागेन, त्यसपछि बाढीमै परेर मृत्यु भएको निश्कर्ष निकाल्दै दाहसंस्कार गरियो ।’ अधिकारीसँगै टिमुरे भन्सारमा काम गर्ने अन्य कर्मचारीले पनि उनी बाढी आउँदा भन्सार कार्यालयमै रहेको र बाढीमा परेको बताएपछि आफन्त र परिवार अधिकारीको मृत्यु भएको निश्कर्षमा पुगेको उनको भनाई छ । आफ्ना आफन्त सबैकोमा खोज्दासमेत भेटिएन,उनले थपे,‘सबै आशाका ढोकाहरु बन्द भएपछि जिउँदो नरहेको निश्कर्षमा आफन्त पुगे ।’
अधिकारीको कुशको प्रतिमामा छोरा विनयले दागवत्ती दिए । त्यसअघि चाउथे समावेशीटोलस्थित अधिकारी निवासबाट कुशको प्रतिमासहितको शव निकालेर रामघाटमा पु¥याइएको थियो ।
६ महिनाअघि टिमुरे भन्सार सरुवा भएका अधिकारीलाई रसुवा बस्ने मन थिएन । शुरुमा आफैले रोजेर गएको ठाउँ भौगोलिक जटिलता र केहि भईहाले भागेर जाने ठाउँसमेत नभएको खोंच देखेर उनी रसुवामा नबस्ने मूडमा थिए । सरुवाका लागि उनले प्रयास पनि गरेको छिमेकी माधव बरालले जानकारी दिए । सरुवाका लागि काठमाडौंसम्म धाए,नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्षसमेत रहेका उनले भने,‘तर एक वर्ष नपुगी सरुवा नमिल्ने भनेपछि निराश भएर रसुवा फर्किए ।’
श्रीमानको मृत्युपछि श्रीमती मञ्जु भावविह्वल छिन् । अर्धवेहोसजस्तै रहेकी उनी बारम्बार श्रीमान खोई भन्दै बर्बराउँछिन् । श्रीमानले ‘बाढी, पहिरो आए भागेर जाने ठाउँ छैन’ भन्ने गरेको स्मरण गर्दै उनी बर्बराउँछिन्,‘के दशा आईलाग्यो हामीलाई, आखिर उहाँले जे भन्नुहुन्थ्यो, त्यहि भयो ।’
सरुवा नमिलेपछि अधिकारी तीज पर्व मनाउन घर आउने तयारीमा थिए । घरमा आमा, श्रीमतीदेखि चार दिदी बहिनीहरुलाई भिडियो कल गरेर आफू तीजमा घर आउने जानकारीसमेत गराइसकेको दिदी लीलाले बताईन् । तीजको कोशेली भन्दै कपडासमेत किनेर ल्याएको छु भन्दै देखाउँथ्यो,बिलौना गर्दै उनले भनिन्, ‘सबलाई हसाउँथिस्, जानेबेला रुवाएर गईस् ।’
एकमात्र छोरो गुमाएपछि अधिकारीकी आमा चिनीमायाको होसहवास छैन । छोरो हराएदेखि निन्द्रा हराएको उनको आँखामा आँशुको भेल अझै रोकिएको छैन । छोरा आउने आश मारे पनि सहारा टुटेकोमा उनी ‘म जानेबेलामा तँ छाडेर गईस्’ भन्दै बिलौना गरिरहन्छिन् ।
सामाजिक कार्यमा सँधै अग्रसर हुने अधिकारी भोटेकोशीको बाढीमा परेर वेपत्ता भएदेखि उनको गाउँ समावेशी टोलमा सन्नाटा छाएको छ । घरमा हुँदा सँधै मुरली बजाएर गाउँलेलाई आल्हादित बनाउने अधिकारी नहुँदा गाउँ नै शोकमा डुबेको छ । विवाह, ब्रतबन्धदेखि गाउँमा हुने हरेक भोजभतेरमा उनी नै अघि सर्थे । सबैसँग घुलमिल गर्ने र सहयोग गर्ने बानी रहेको भन्दै छिमेकी बरालले भने,‘उहाँ साँच्चिकै आँखामा राख्दा पनि नबिझाउने व्यक्ति हुनुहुन्थ्यो ।’
कास्कीका १४ मध्य २ जना सम्पर्कमा
भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएका कास्कीका दुई जना सम्पर्कमा आएका छन् । भोटेकोशीमा आएका बाढीका कारण सम्पर्कविहीन भएका कास्कीका १२ जनामध्य दुई जना सम्पर्कका आएको कास्की प्रशासनले जनाएको छ । सम्पर्कविहीन भनिएका पोखरा–१५ का ३८ वर्षिय छमप्रकाश थापा र सोही वडाकी ३३ वर्षिया मनु बुढा सम्पर्कमा आएको प्रशासनको सूचनामा उल्लेख छ ।
कास्की जिल्लाका १२ जना नागरिक भने अझै बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह…








