पोखरा — पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ८३ दशमलव २६ प्रतिशत मत खसेको छ। आइतबार भएको मतदानमा अध्यक्ष तथा पदाधिकारीतर्फ २ हजार २ सय ७४ मत परेको निर्वाचन समितिले जनाएको छ।
संघमा कुल २ हजार ७ सय ३१ सदस्य छन्। सदस्य पदतर्फ भने २ हजार १ सय ८ जनाले मात्र मतदान गरेका छन्। निर्वाचन समितिका संयोजक दामु अधिकारीले पदाधिकारीको तुलनामा सदस्यतर्फ कम मत खसेको जानकारी दिए।
निर्धारित समयअनुसार बिहान ८ बजे मतदान सुरु गर्ने तयारी भए पनि समयमै प्रक्रिया अघि बढ्न सकेन। साढे ८ बजेबाट सुरु भएको मतदान साँझ साढे ५ बजेसम्म सञ्चालन गरिएको थियो। समय ढिला भएकाले निर्वाचन समितिले मतदानको अवधि आधा घण्टा थप गरेको थियो।
मतदान सकिएसँगै मतपेटिका व्यवस्थापनको काम पूरा भएको र सोमबार बिहान ८ बजेदेखि मतगणना थालिने अधिकारीले बताए। ‘आइतबार मतपेटिका व्यवस्थापनको काम सकियो । अब सोमबार बिहान ८ बजेबाट मतगणनाको काम सुरु हुन्छ,’ उनले भने।
अध्यक्ष पदका लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतमबीच प्रतिस्पर्धा छ। गौतम र आचार्यले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेका छन्।
वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी र दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (उद्योग) मा सौगात थापा र ललितबहादुर कुँवर तथा उपाध्यक्ष (वाणिज्य) मा भीम गौतम र मनोजकुमार श्रेष्ठ आमनेसामने छन्।
महासचिवमा तारानाथ ढुंगाना र सुदिप प्रधानांग तथा कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ र देवेन्द्र प्रजु प्रतिस्पर्धामा छन्। उप–महासचिवमा यादवप्रसाद पोखरेल, प्रदीप राजभण्डारी र रामचन्द्र तिमिल्सिना उम्मेदवार छन्।
सदस्यतर्फ १३ जना चुनावी मैदानमा छन्। वस्तुगत सदस्यका चार पदमा केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल निर्विरोध भएका छन्। औद्योगिक सदस्यमा पिताम्बर अधिकारीको मात्र उम्मेदवारी परेकाले उनी पनि निर्विरोध भएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा…





