सन्देश श्रेष्ठ
पोखरा, कात्तिक १४
पोखरामा आगामी मंसिर दोस्रो सातादेखि किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा आगामी मंसिर ९ गतेदेखि १५ गतेसम्म प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
पहिलोपटक आयोजना हुन लागेको यस प्रतियोगिता यसअघि मंसिर १ गतेदेखि ६ गतेसम्म हुने भनिएको थियो । तर प्राविधिक कारणले सरेर मंसिर ९ गतेदेखि १५ गतेसम्म आयोजना गर्ने तय भएको आयोजक युनाइटेड किङ्स क्लब पोखराका सचिव अशोक थापाले जानकारी दिए । भारतमा नोभेम्बर १५ देखि २२ तारिखसम्म अर्थात कात्तिक २२ गतेदेखि मंसिर ६ गतेसम्म काभा पुरुष भलिबल लिग हुने भएकाले प्रतियोगिता सार्नुपरेको उनले प्रष्ट्याए । ‘काभा भलिबल लिगमा नेपाली टोली पनि सहभागी हुने भएकाले खेल नजुधोस् भनेर हामीले प्रतियोगिता केहि पछाडि धकेलेका हौं’–उनले भने ।
पहिलो पटक हुन लागेको सो प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल कोर्टमा आयोजना हुने थापाले बताए । प्रतियोगितामा ६ टोलीले प्रतिष्पर्धा गर्ने उनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपालका तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाली सेना र सशस्त्र प्रहरी बलसहित आयोजक गण्डकी प्रदेश भलिबल संघ पनि सहभागी हुनेछन् । त्यसबाहेक अन्य दुई टोली सहभागी हुने सचिव थापाले जानकारी दिए । ‘बाँकी दुई टोलीको टुंगो लागिसकेको छैन’–उनले भने ।
भलिबल खेलको विकास, विस्तारसँगै खेलाडीलाई एक्सपोजर दिएर उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक थमन गुरुङले बताए । उनले भने,‘राष्ट्रियस्तरका उत्कृष्ट टोलीबीच प्रतिस्पर्धा गराउँदा स्थानीय तथा युवा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने र राष्ट्रियस्तरका खेलाडीसँग अनुभव साट्ने अवसर प्राप्त गर्नेछन् भन्ने हाम्रो विस्वास हो ।
प्रतियोगिताको उपाधि बिजेताले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, उपबिजेताले नगद २ लाख ५० हजार, तृतीय हुने टोलीले नगद १ लाख तथा सान्त्वना स्थान प्राप्त गर्ने एक टोलीले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने सचिव थापाले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजारसहित ट्रफी प्रदान गरिने उनले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि करीब ६१ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताबाट ७१ लाख रुपैयाँ आम्दानी गरेर १० लाख बचत गर्ने लक्ष्य लिइएको सचिव थापाले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको बाटुलेचौरमा आयोजित रक्तदान कार्यक्रमबाट ५१ युनिट रगत संकलन भएको छ ।…







