नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारको पारिवारिक बीमा निःशुल्क रुपमा गर्ने भएको छ । पत्रकार महासंघ कास्कीले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा आफू मातहत रहेका ३ सय बढी पत्रकार र तिनका परिवारको पारिवारिक बीमा गरिदिने भएको हो । महासंघ कास्कीले पोखरा महानगरपालिकासँगको सहकार्यमा गरिने पारिवारिक बीमाको सोमबार शुभारम्भ गरिएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बीमाको कागज पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेर बीमा कार्यक्रमको शुभारम्भ गरे । लगत्तै नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा सल्लाहकार बद्रीविनोद खनाल (प्रतिक) र उनकी धर्मपत्नी पत्रकार सावित्री खनालको बीमा गर्दै उनीहरुलाई बीमा कार्ड हस्तान्तरण गरिएको थियो । सो अवसरमा महासंघका अध्यक्ष श्रेष्ठले स्वास्थ्य बीमा बोर्डका गण्डकी प्रदेश संयोजक जीवलाल खरेललाई बीमा गर्नुपर्ने पत्रकारको लिस्ट बुझाए ।
महासंघले आर्थिक अभावमा पत्रकारको परिवार उपचारबाट बञ्चित नहोस् भन्ने उद्धेश्यले पारिवारिक बीमा गरेको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । उनका अनुसार महासंघको सदस्य रहेको पत्रकार र उनको ५ जना सम्मको परिवारको पारिवारिक बीमा गरिनेछ । १ लाखको पारिवारिक बीमाका लागि ३ हजार ५ सय रुपैयाँ लाग्ने र सो रकम पोखरा महानगरपालिकाले बेहोर्ने उनले जानकारी दिए ।
बीमाका लागि बीमक पत्रकारको घरमै आएर बीमा गर्ने जनाइएको छ । बीमकले शुरुमा पत्रकारलाई फोन गर्छ,अध्यक्ष श्रेष्ठले भने,‘त्यसपछि आवश्यक कागजपत्र तयार बस्न आग्रह गरिन्छ र घरमै गएर पत्रकार र उनको परिवारको बीमा गरिन्छ ।’ कुनैपनि कागज पत्र छोडिएर बीमा गर्नबाट नछुटुन् भनेर घरमै गएर बीमा गर्ने ब्यबस्था गरिएको उनले स्पष्ट पारे ।
बीमा शुभारम्भ कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सँधै अर्काको दुःखका समाचार लेख्ने पत्रकारको स्वास्थ्यमा आइहालेमा सहजै उपचार होस् भन्ने उद्धेश्यले महानगरले सहयोग गरेको बताए ।
स्वास्थ्य बीमा बोर्डका गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले स्वास्थ्य बीमाप्रति अरुलाईपनि आकर्षित गर्न पत्रकारको पारिवारिक बीमाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
शुभारम्भ कार्यक्रममा राष्ट्रपतिका पूर्व प्रेस सल्लाहकार तथा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, प्रेस यूनियन कास्कीका सभापति नवीन सिग्देल, प्रेस संगठन कास्कीका संयोजक सन्देश श्रेष्ठ, प्रेस चौतारी कास्कीका संयोजक अर्जुन गिरी, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, सचिव रामप्रसाद तिमिल्सिनालगायतले पत्रकारसँगै परिवारकोपनि बीमा गरेर पत्रकार महासंघ कास्कीले सराहनीय कार्य गरेको बताएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मकवानपुरको भीमफेदी –६ चिसापानी गढीमा भएको माईक्रो बस दुर्घटनामा परि मृत्यु हुनेको…







