गण्डकी प्रदेशमा एकै दिन कोरोना संक्रमणबाट ४ को मृत्यु

- कास्कीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२० पुग्यो


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७८ मा प्रकाशित




पोखरा । पछिल्लो २४ घण्टामा कास्कीका दुई सहित गण्डकी प्रदेशमा ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार कास्कीका २, स्याङ्जा र म्याग्दीका एक–एक जनाको संक्रमणबाट मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–२५ का ९१ वर्षिय वृद्धको सोमबार बिहान ५ः४९ बजे मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको छ । यही बैशाख ११ गते कोरोना संक्रमित भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै सोही अस्पतालमा उपचाररत पोखरा–१ की ५५ वर्षिया महिलाको सोमबार दिउँसो १२ ः ५४ बजे मृत्यु भएको छ । बैशाख ११ गते कोरोना संक्रमित भएकी उनको उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यस्तै लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचाररत स्याङ्जाका अर्का एक पुरुषको पनि सोमबार नै मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भएका ५८ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनमा बैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

आइतबार मात्रै कोरोना भाइरस संक्रमित भएका म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ७५ वर्षिय वृद्धको सोमबार बिहान ३ः१५ बजे मृत्यु भएको छ । पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

हालसम्म संक्रमणबाट सबैभन्दा धेरै कास्कीमा १२० जनाको मृत्यु भएको छ , त्यस्तै लमजुङमा ५, गोरखामा १०, तनहुँमा २५, नवलपरासी पूर्वमा २२, स्याङ्जामा ३५, पर्वतमा ३, बाग्लुङमा ८, म्याग्दीमा २७ गरि प्रदेशभर २१५ जना संक्रमितको मृत्यु भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।