रित्तो अक्सिजन ग्यास सिलिण्डर संकलनमा जुट्यो प्रहरी


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०७८ मा प्रकाशित




अक्सिजन सिलिण्डरको अभावमा नागरिकको ज्यान जान थालेपछि कास्की प्रहरी सिलिण्डर संकलनमा जुटेको छ । अक्सिजन सिलिण्डरको अभाव भएर कुनैपनि नागरिकको ज्यान नजाओस् भनेर प्रहरी सिलिण्डर संकलनमा जुटेको हो । जस अन्तर्गत कास्की प्रहरीले विभिन्न मेटल कम्पनी, वर्कसप, ईञ्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङलगायतका कम्पनीहरुमा पुगेर सिलिण्डर संकलन गरेको कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

एसपी श्रेष्ठले स्थिति सामान्य अवस्थामा फर्केपछि फिर्ता गर्नेगरी सिलिण्डर संकलन गरिएको बताए । पहिलो चरणमा शनिबार सम्ममा १८७ वटा अक्सिजन ग्यास सिलिण्डर संकलन गरिएको उनले जानकारी दिए । संकलित सिलिण्डर अक्सिजन ग्यास सिलिण्डर उत्पादक कम्पनी पोखरा अक्सिजन प्रालि र कालीगण्डकी अक्सिजन प्रालिलाई हस्तान्तरण गरिएको एसपी श्रेष्ठले बताए । कोरोना संक्रमित विरामीहरुको उपचारार्थ अस्पतालहरुमा अक्सिजन ग्यास सिलिण्डर लैजाने शर्तमा संकलित सिलिण्डर अक्सिजन ग्यास उत्पादक कम्पनीहरुलाई दिइएको उनले प्रष्ट्याए ।

प्रहरीले आम जनसमुदायमा अक्सिजन ग्यास सिलिण्डर भएको खण्डमा अक्सिजन उत्पादन कम्पनीलाई उपलब्ध गराउन अपिल गरेको छ । एसपी श्रेष्ठले भने,‘हामी अपिल गर्छौं कि आम नागरिकमा यदि तपाईंहरुसँग सिलिण्डर भए तुरुन्त खबर गरेर नागरिकको ज्यान जोगाउने अभियानमा सहयोग गरिदिनुस् ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।