कोरोना संक्रमणबाट पोखरामा थप ११ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत १० जना र होमआइसोलेसनमा रहेका १ जना गरी थप ११ जना कोरोना संक्रमितहरुको मृत्यु भएको हो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कास्कीको पोखराका ६ जना, रुपन्देहीका २ जना तथा म्याग्दी, स्याङ्जा र तनहुँका एक–एक जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–१७ का ८४ वर्षीय पुरुष, पोखरा–१६ की ६० वर्षीया महिला, पोखरा–६ का ५२ वर्षीय पुरुष, पोखरा–२१ का ८० वर्षीय पुरुष, पोखरा–६ की ३२ वर्षीया महिला र पोखरा–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसैगरी, रुपन्देहीको सैनामैना नगरपालिका–१ का ४० वर्षीय पुरुषको मंगलबार बिहान पोखराको चरक अस्पतालमा र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको गएराति सवा १ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

यसैगरी म्याग्दीको बेनी नगरपालिका–९ की ५२ वर्षीया महिला, स्याङ्जाको भीरकोट नगरपालिका–१ का ६८ वर्षीय पुरुष र तनहुँको ब्यास नगरपालिका–१ की ५७ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८७ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।